News Portal

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक, भिडियोमा राजेश र करिश्माको अभिनय

फेवाखबर संवाददाता
५७ पटक

‘पानको पात’ जस्ता अनेकौँ कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच महानायक राजेश हमालले उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन्। गोरखा म्युजिकमार्फत बजारमा आएको यस गीतको सार्वजनिकरण कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायक बम बहादुर कार्की, निर्देशक देवेन्द्र पाण्डे, गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्की र कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो।

प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्त्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतले समाजका लागि एउटा गहन सन्देश प्रवाह गरेको छ। गीतले पानीको महत्त्व दर्साउँदै यसको संरक्षण गर्न र पानीका स्रोतहरूलाई प्रदूषित नबनाउन आम मानिसलाई आग्रह गरेको छ। म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको मुख्य अभिनय देख्न सकिन्छ। केही समयको अन्तरालपछि यो जोडीले एउटै भिडियोमा स्क्रिन सेयर गरेका हुन्, जहाँ हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिश्माले आफ्नो नृत्य र जीवन्त अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई झल्काएकी छिन्। उनीहरूसँगै कलाकार सगुन कार्कीको पनि भिडियोमा सशक्त अभिनय रहेको छ।

वरिष्ठ गायक बम बहादुर कार्की स्वयम्को शब्द र सङ्गीत रहेको यस गीतमा गायनतर्फ कार्कीलाई गायिका शिवा आले कार्की, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन् भने गीतको सङ्गीत संयोजन बि.बि. अनुरागीले गरेका हुन्। प्राविधिक पक्षतर्फ देवेन्द्र पाण्डेको कुशल निर्देशनमा तयार भएको यस भिडियोलाई हरि हुमागाईँले छायाङ्कन गरेका हुन्। भिडियोमा नेपालका सुन्दर पहाड, झरना, नदी र प्राकृतिक दृश्यहरूलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। विकास दाहालले सम्पादन गरेको यस भिडियोमा पानीका विभिन्न रूपहरूलाई सुन्दर ढंगले समेटिएको छ।

कार्यक्रममा बोल्दै महानायक राजेश हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरे। उनले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे चर्चा गर्दै गायक बम बहादुर कार्कीको योगदानको स्मरण गरे। हमालले कार्कीको सदाबहार गीत ‘पानको पात’ ले नेपालमा मात्र नभई विश्वभर नेपालीको पहिचान बनाएको बताए। आफू चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतहरूमा नाच्ने गरेको स्मरण गर्दै हमालले यस सुखद र सन्देशमूलक प्रोजेक्टमा जोडिन पाउँदा खुसी व्यक्त गरे।

त्यस्तै, अभिनेत्री करिश्मा मानन्धरले गीत र भिडियो दुवै निकै उत्कृष्ट बनेको भन्दै प्रशंसा गरिन्। गायक बम बहादुर कार्कीले मानव जीवनमा पानीको महत्त्व बुझाउन र संरक्षणको चेतना फैलाउनु नै गीतको मुख्य उद्देश्य रहेको प्रष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्