News Portal

समयमै व्यक्तिगत घटना दर्ता गर्न पोखरा महानगरपालिका वडा नं. १८ को अपिल

फेवाखबर संवाददाता
२९ पटक

पोखरा।

पोखरा महानगरपालिका वडा नं. १८ कार्यालयले वडाबासीहरूको कानुनी अधिकार सुनिश्चित गर्न र राज्यबाट प्राप्त हुने सेवा सुविधालाई सहज बनाउन समयमै व्यक्तिगत घटना दर्ता गर्न विशेष अपिल गरेको छ।वडा कार्यालयका अनुसार जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, र बसाइँसराइ जस्ता व्यक्तिगत घटनाहरू घटेको ३५ दिनभित्र दर्ता गराउनु कानुनी रूपमा अनिवार्य रहेको छ। ३५ दिनभित्र वडा कार्यालयमा दर्ता गराउँदा यो सेवा पूर्ण रूपमा नि:शुल्क उपलब्ध हुनेछ। ३५ दिन नागिसकेको हकमा भने नियमानुसार ढिलो शुल्क लाग्ने वडा कार्यालयले जनाएको छ।घरमै बसेर अनलाइनबाटै फाराम भर्न सकिने:सेवाग्राहीको सहजताका लागि अनलाइन प्रणालीको व्यवस्था गरिएको छ। वडाबासीहरूले आफ्नै घरमा वा नजिकैको साइबर मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आधिकारिक पोर्टल ⁠public.donidcr.gov.np मा गई अनलाइन सूचना फाराम भर्न सक्नेछन्। उक्त फाराम भरेपछि प्राप्त हुने टोकन नम्बर (Token Number) र आवश्यक कानुनी कागजातहरू सहित पोखरा १८ को वडा कार्यालय (सराङकोट) मा गई तुरुन्तै प्रमाणपत्र प्राप्त गर्न सकिनेछ।आवश्यक पर्ने मुख्य कागजातहरू:जन्म दर्ता: अस्पतालको जन्म प्रमाणपत्र (भएमा), बुबा-आमाको नागरिकताको प्रतिलिपि।विवाह दर्ता: दुलहा-दुलहीको नागरिकता, संयुक्त तस्बिर र साक्षीहरूको नागरिकता।मृत्यु दर्ता: मृतकको नागरिकताको सक्कल प्रति र सूचना दिन आउने सूचकको नागरिकता।बसाइँसराइ: साविकको स्थानीय तह वा वडा कार्यालयले दिएको बसाइँसराइको सक्कल प्रमाणपत्र र यहाँको घरजग्गा सम्बन्धी प्रमाण।समयमै व्यक्तिगत घटना दर्ता नगर्दा बालबालिकाको विद्यालय भर्ना, नागरिकता, राहदानी (Passport) बनाउने कार्य, जग्गा जमिनको नामसारी तथा ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूले पाउने सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सरकारी सेवाहरू लिन बाधा पुग्ने भएकाले समयमै दर्ता गर्न वडा कार्यालयले आग्रह गरेको छ। थप जानकारीका लागि सिधै पोखरा महानगरपालिका वडा नं. १८ को कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्