News Portal

दुई सहकारी ठगीका नाइके सीबीविरुद्ध पौने २ अर्ब दाबीसहितको उजुरी, निवेदन थपिने क्रम जारी

फेवाखबर संवाददाता
२९ पटक

काठमाडौं । एक अर्ब ५१ करोड रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले लामालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सोक्रममा वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका ८५२ जना बचतकर्ताले उजुरी दिएको बताए ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको उनले बताए । २०८० फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

एसएसपी भट्टराईले भने, ‘प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई/तीन महिनादेखि नै फरार रहनुभएको अवस्था देखिन्छ । खोजतलास गर्दै जाँदा काठमाडौं उपत्यकाभन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो । २०८१ जेठ १८ गते चितवनको भरतपुरबाट पक्राउ गरेका थियौं ।’

काभ्रेको साविक नारायणथान गाविस-८ निवासी ४९ वर्षका लामा नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन् । उनले २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा समाचार संकलनको रुपमा काम गरेको साथै २०५२ तिर स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको पाइएको छ ।

कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा रहेको प्रहरीको भनाइ छ । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको बताइएको छ ।

लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा भने सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्