तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको उपनिर्वाचनमा सो स्थानमा एमालेले रवीन्द्रपत्नी विद्या भट्टराई (अधिकारी) लाई निर्विवाद उम्मेदवार बनाउने निर्णय गर्यो । खासमा विद्या रवीन्द्रको पत्नीमात्र थिइनन्, विद्यार्थीकालमा राजनीतिमा सक्रिय उनी २०५५ मा अनेरास्ववियु केन्द्रीय सचिव हुँदा रवीन्द्र नेतृत्वमा थिए ।
२०५६ सालमा रवीन्द्रसँग बिहेपछि भने राजनीति पतिलाई सुम्पिएर आफू घरव्यवहार र शैक्षिक क्षेत्रतर्फ लागिन् । त्रिविको उपप्राध्याक पदबाट राजीनामासँगै उपनिर्वाचनमा होमिएकी उनले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गर्दै कास्की २ मा एमालेको विरासत जोगाइन् । सोही क्षेत्रमा रवीन्द्रले २०६४, ०७० र ०७४ को चुनाव जितेर लगातार ३ पटक जित हासिल गरेका थिए ।
२०७९ मंसिर ४ को चुनावमा फेरि कास्की २ मा फेरि उम्मेदवार बनिन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धनविरुद्ध एमाले एक्लै लड्दासमेत जित उनकै पक्षमा गयो । उनले १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका थिए । बौद्धिक, स्वच्छ र पारदर्शी छवि बनाएकी त्रिविकी पूर्व उपप्राध्यापक उनै विद्या अहिले शिक्षामन्त्री बनेकी छन् । यसरी संघीय सरकारमा रास्वपाकी सुमना श्रेष्ठको बहिर्गमनसँगै फेरि देशले महिला नै शिक्षामन्त्री पाएको छ । राजनीतिमा आउन चाहने महिलाका लागि उनी उदाहरणीय हुन् ।
काठमाडौं चावहिलमा जन्मिएकी विद्या पशुपति मावि कक्षा ७ मा अध्ययन गर्दागर्दै अनेरास्ववियुमा प्रवेश गरेकी थिइन् । ०४५ सालमा भारतीय नाकाबन्दीको विरुद्ध अनेरास्ववियकाु आन्दोलनमा सहभागिता जनाइन् । २०४६/४७ को आन्दोलनमा पद्मकन्याको अगुवाइ गरिन् । २०४७ नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरिन् । ०४८ मा पोखरामा सम्पन्न एकताको ११ औं राष्ट्रिय सम्मेलनमा अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य निर्वाचित हुन सफल भइन् । ०४९ पद्मकन्यामा स्ववियु निर्वाचनमा अनेरास्ववियुतर्फबाट सभापति उम्मेदवार बनिन् । ०५० अनेरास्ववियुको केन्द्रीय कमिटी महिला विभाग प्रमुख हुँदै २०५५ सालसम्म केन्द्रीय सचिवालय सदस्य रहिन् । ०५५ मा अनेरास्ववियुको केन्द्रीय कमिटी सचिव, ०५६ मा अनेमसंघको केन्द्रीय सदस्य, ०५८ मा बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्यको जिम्मेवारी पूरा गरिन् ।
०५९ मा पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापक पेसा प्रारम्भ गरिन् । पछि, काठमाडौं गइन् । उनीसँग १७ वर्षसम्म प्राध्यापक गरेको अनुभव छ । २०६२/०६३ सालमा प्रगतिशील प्राध्यापक संगठनमार्फत सक्रिय सहभागी भइन् । ०६४ मा नेकपा (एमाले) उपत्यका कमिटीको महिला विभाग सचिव चुनिएकी उनी ०६६ मा एमाले सामुदायिक क्याम्पस इलाका कमिटीको उपाध्यक्ष, ०६२ देखि ६६ सम्म पार्टी संघीय मामिला विभाग र त्यसपछि ०७४ पार्टी केन्द्रीय शिक्षा तथा मानव स्रोत विकासको सदस्य बनिन् ।
त्रिविबाट समाजशास्त्रमा एमफिल उनी एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुन् ।