News Portal

पोखरा दोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जीवन गुरुङ

फेवाखबर संवाददाता
४५० पटक

पोखरा, ११ भदौ ।

पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा पुनः जीवन गुरुङ चयन भएका छन् । शनिबार पोखरा सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा आयोजित तेस्रो जिल्ला अधिवेशनबाट गुरुङ पुनः अध्यक्षमा सर्वसम्मत चयन हुन सफल भएका हुन् ।
यसैगरी उपाध्यक्षमा विरेन्द्र केसीले बाजी मारे । उपाध्यक्षमा उम्मेदवारी दिएका अमृत गुरुङलाई दुई मतअन्तरले पराजित गर्दै केसीले बाजी मारेका हुन् । केसीले १४ मत प्राप्त गर्दा गुरुङले १२ मत प्राप्त गरें ।

अन्य पदमा भने सर्वसम्मत भएको थियो । जसअनुसार सचिवमा दिल कुमारी मोक्तान, कोषाध्यक्षमा विष्णु बहादुर गुरुङ र सह–सचिवमा सन्जु थापा मगर चयन भए । सदस्यमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दीनेश केसी र दिप्सन गुरुङ छानिए । संघमा पोखरामा रहेका २६ वटा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी आवद्ध रहेका छन् ।

अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भए पश्चात कुरा गर्दै अध्यक्ष गुरुङले आफुले सबैभन्दा पहिला कलाकार मात्र नभएर दोहोरी रेष्टुरेन्टमा काम गर्ने सबै कर्मचारीको लागि कल्याणकारी कोष स्थापना गर्ने बताए । ‘स्टेजमा काम गर्ने कलाकारको लागि कल्याणकारी कोष सञ्चालनमा छन् तर अन्य कर्मचारीको लागि थिएन अब सबै कर्मचारीको लागि कल्याणकारी कोष स्थापना गर्छु’ उनले भने ।

पहिलो कार्यकालमा कोरोनाका कारण गाह्रो भएपनि दोस्रो कार्यकाल केही सहज हुने उनको आशा छ । कोरोना कहरको समयमा व्यवसाय चौपट्ट भएपनि दोहोरी रेष्टुरेन्टमा आवद्द कलाकार र कर्मचारीलाई सहयोग गरेको कारण दोस्रो कार्यकालका लागि सबैले साथ दिएको उनको भनाई छ । ‘लकडाउनको समयमा विभिन्न सहयोग दाता मार्फत २ सय कर्मचारीलाई सहयोग गरे, उनीहरुलाई खोप लागाउने व्यवस्था समेत गरेको थिए’ उनले भने । आगामी दिनमा सबै व्यवसायीलाई साथमा लिएर अगाडि बढ्ने उनको भनाई छ ।
यसअगाडि अधिवेशनको पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा दोहोरी व्यवसायीको क्षेत्रमा कलम चलाएको भन्दै कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य सन्तोष बस्याललाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्