News Portal

मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट

फेवाखबर संवाददाता
१०० पटक

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सोमबार साँझ कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थापाको उपचारको क्रममा सोमबार राति नै कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनका अनुसार घटनास्थलबाट सेल्फस नामको औषधीको बट्टा समेत भेटिएको छ ।

आत्महत्याको आशंका गरिए पनि पोस्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ । पोस्ट मार्टमका लागि थापाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

यो पनि पढ्नुहोस
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ । तीन पेज लामो सुसाइड नोट फेला परेको एक अनुसन्धान अधिकृतले बताए । ‘एउटा सुसाइड नोट पनि फेला परेको छ । पारिवारिक कुराहरू उल्लेख छन् । सहकारीका केही विषय उल्लेख छन् । आफ्नो बेइज्जत गर्न खोजेपछि आत्महत्याको निर्णयमा पुगेको ब्यहोरा उल्लेख छ,’ एक अनुसन्धान अधिकृतले भने ।

घटनास्थलमा भेटिएको उक्त सुसाइड नोटको आधिकारिकता पुष्टि हुन भने बाँकी नै छ । फरेसिन्क जाँचबाट उक्त सुसाइड नोट थापाले ने लेखेको हो/होइन भन्ने यकिन हुन बाँकी नै छ ।

धादिङको धुनीबेसी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । धादिङको धुनीबेसी नगरपालिका–८ घर भई कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका थिए ।

उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ६ः३८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्