News Portal

रेड पान्डा चोरी प्रयास : ५ लाख भारुमा बेच्ने डिल, किन्न खोज्ने भारतीय अझै फरार

फेवाखबर संवाददाता
१४२ पटक

२६ जेठ,
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेड पान्डा चोरी गर्न खोज्ने व्यक्तिले पाँच लाख भारुमा बेच्ने योजना रहेको खुलेको छ ।

चोरी प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले पाँच लाख भारुमा उक्त रेड पान्डा किन्ने मान्छे समेत खोजी सकेको पत्ता लगाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले रेड पान्डा चोरी प्रयासको आरोपमा धादिङबेशी घर घएका २१ वर्षीय कृष्ण गुरुङ र भारत बिहार राज्य वैशालीका २६ वर्षीय मोहमद तफिकलाई पक्राउ गरेको थियो । १९ जेठदेखि उनीहरू परिसरको हिरासतमा छन् । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा रेड पान्डा चोरी गरेर भारतीय नागरिकलाई पाँच लाख भारुमा बेच्ने गरी डिल भएको खुलेको हो ।

परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार चोरी गरेको रेड पान्डा किन्न भन्दै दुई भारतीय समेत काठमाडौंमै आएका थिए । चोरी प्रयास असफल भएपछि उनीहरू भने फरार भएका थिए । रेड पान्डा चोरी प्रयास गर्ने पक्राउ परे पनि किन्न खोज्ने दुई भारतीय भने अहिलेसम्म फरार छन् । उनीहरूको पहिचान भने भइसकेको प्रहरीले दाबी गरेको छ ।

‘उनीहरू चिडियानाखाभित्रै छिरेर चोरी प्रयास गर्ने भन्दा पनि किन्ने उदेश्यले आएकाहरू हुन् । उनीहरूको पहिचान भएको छ । पक्राउ पर्न बाँकी छन्’ एक अनुसन्धान अधिकारीले भने ।

उनीहरूले दुई पटकसम्म चिडियाखाना गएर रेकी गर्दै तेस्रो प्रयासमा मध्यराति चिडियाखानाबाट रेड पान्डा चोरेर झोलामा समेत प्याक गरिसकेका थिए । सो क्रममा रेड पान्डा एक्कासि कराउन थालेपछि उनीहरू झोला फालेर फरार भएको पाइएको परिसरका एसएसपी अधिकारी बताउँछन् ।

३० वैशाखको राति १० बजेतिर चिडियाखानाबाट रेड पान्डा चोरीको प्रयास भएको सूचना परिसरमा आएको थियो त्यसपछि परिसरको टोली चिडियाखाना पुगेको थियो ।

घटनास्थलबाट पेचकस, रेड पान्डाको भुत्लासहितको झोला, एक जोर जुत्ता समेत प्रहरीले बरामद गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेज केलाएको प्रहरी यो घटनाका आरोपितसम्म पुग्न सफल भएको हो ।

पक्राउ परेका तफिक स्वम्भूमा चराचुरुङ्गीको व्यापार गर्दै आएका थिए । सीसीटीभी फुटेज पच्छ्याउँदै गएको प्रहरीले उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

रेड पान्डा चोर्ने योजनाहरू उनीहरू हाल फरार रहेका दुई भारतीयसहित चिडियाखाना पुगेको पाइएको छ । टिकट काटेर चिडियाखाना छिरेका उनीहरू रेड पान्डा बस्ने स्थान, झ्याल, ढोका र भित्र प्रवेश गर्न सकिने सम्भावित ठाउँदेखि सीसी क्यामेराको कभरेजसम्मको विश्लेषण गर्दै त्यस दिन बाहिरिएका थिए ।

पुनः अर्को दिन पनि उनीहरू त्यसैगरी टिकट काटेर चिडियाखाना छिरे । रेकी गरे घुम्ने समय सकिएपछि उनीहरू बाहिर ननिस्किएर क्यान्टिन भित्रै अलमलिएर बसेको एसएसपी अधिकारी बताउँछन् । राति रेड पान्डा चोर्न खोज्दा रुखमा बसेपछि त्यो दिनको योजना पनि असफल भयो । उनीहरू उत्तरतर्फको कम्पाउन्डबाट भागे ।

तेस्रो दिन ३ वैशाखमा उनीहरू दिउँसो त्यसैगरी टिकट काटेर चिडियाखानाभित्र छिरे । त्यसैगरी लुकेर क्यान्टिनमा बसे र राति भएपछि रेड पान्डालाई नियन्त्रणमा लिएर झोलामा हाले । र, लिएर निस्कने बेलामा भने रेड पान्डा करायो, त्यसपछि कर्मचारीको पनि चहल पहल बढ्यो ।

रेड पान्डा कराएपछि थाहा पाउने डरले उनीहरूले झोला नै चिडियाखानाभित्र निगालो घारीमा फ्यालेर फरार भएको पाइएको एसएसपी अधिकारीले बताए । राति १० बजेमात्रै चिडियाखानाको मुख्य गेट बन्द हुने भएकाले उनीहरूले मुख्य गेटबाटै निस्केको प्रहरीले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्