News Portal

५ करोड माग्दै मार्ने धम्की दिनेहरुको ‘राइट किड्स’ लिस्टमा प्रचण्ड, ओलीको पनि नाम‍‌(भिडियोसहित)

फेवाखबर संवाददाता
१९७ पटक

पोखरा

पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले फिरौती माग्दै ज्यान मार्ने धम्की दिने पोखरा बस्दै आएका पर्वतका दुई जनालाई बुधबार पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिकाका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन्

पोखरा महानगरपालिका-१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूले पोखरा- १६ दीपमा सच्चाइ सेवा केन्द्र चलाउँदै गैरेलाई फोन र म्यासेजमार्फत धम्की दिएका थिए । पैसा मागेको र नदिए मार्ने धम्कीसमेत दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले बताए ।

‘युट्युबमार्फत गैरेलाई चिनेका उनीहरू गत माघ १३ गते गैरेको कार्यालयमा पुगेका थिए । पक्राउ परेका दर्जीले युट्युबबाट गैरेको सम्बन्धमा भिडियोहरू हेर्ने गरेको र माघ १३ गते सच्चाइमा गई १/२ घण्टा बसी नम्बर लिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, एसपी थापाले भने ।

त्यसपछि ती व्यक्तिले माघ १८ गते फोन तथा म्यासेजबाट धम्की दिई रकम मागेका थिए । हिन्दी भाषा प्रयोग गरी उनीहरूले फोन तथा म्यासेज गर्ने गरेको एसपी थापाले सुनाए । त्यसपछि पनि उनीहरू पटक पटक गैरेको कार्यालयमा पुगेका थिए । गैरेको उजुरीका आधारमा बुधबार पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरू दुवै जना करिब १ महिनादेखि पोखरा सिमल चौरमा बस्दै आएका थिए । दर्जी कतारमा ४ वर्ष बसेर एक महिनाअघि मात्रै नेपाल आएका थिए । उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको पाना, किताब, नोट बुक, भारतीय सिम, खुकुरी, गाँजा, भरुवा बन्दुकमा लाग्ने केप, रन्दा मेसिन र गेलेण्डर मेसिनसमेत बरामद गरेको छ ।

‘विदेशबाट आउनेबित्तिकै पोखरामा भाडामा लिएर बसेको देखिन्छ । उतैबाट योजना बनाएर आएको कि यता आएर योजना बनाएको अनुसन्धानबाट खुल्दै जाला’, एसपी थापाले भने ।

ती पानामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित नाम लेखिएको एसपी थापाले सुनाए । व्यक्तिहरूको नाम उल्लेख गरिएको पानामा ‘राइट किड्स’ लेख्दै ३० भन्दा बढी व्यक्तिको नाम लेखेका छन् । ती नाममा शीर्ष नेताका नाम पनि छन् । रिच किड्स लेखेर नेता व्यापारी, गुन्डा, भू माफिया, मेडिकल माफिया, म्यानपावर माफियाको नाम उल्लेख छ । सुनेका जति नेताका नाम त्यहाँ खेलेका छन्’, एसपी थापाले भने ।

 

प्रतिकृया दिनुहोस्