नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।
माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताए।
आज मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाइन्सलाई निर्देशनसमेत दिए । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमानदार र समर्पित भएर लाग्न पनि एलाइन्सलाई सचेत गराए ।
उनले भने, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन । त्यस कारण हाम्रो एलाइन्स मानव अधिकारप्रति समर्पित, इमानदार हुनुपर्दछ ।’
अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए ।