Skip

Click here to see more…

News Portal

रुपा गाउँपालिका स्थापना दिवसका अवसरमा रुपा रत्नबाट सम्मान गरिने : अध्यक्ष नवराज ओझा

रुपा गाउँपालिका स्थापना दिवसका अवसरमा रुपा रत्नबाट सम्मान गरिने : अध्यक्ष नवराज ओझा

फेवाखबर संवाददातापोखरा ,१२ फागुन ।
२९१ पटक
पोखरा ,१२ फागुन ।

कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगिता गर्ने भएको हो ।

पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितका खेल फागनु २३ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरको १ जना खेलाडी राख्न पाउने अध्यक्ष नवराज ओझाले बताए । ‘हामीले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेका छौं, यस वर्षबाट एउटा वडाबाट एकभन्दा धेरै टिम ल्याउन पनि पाइन्छ,’ अध्यक्ष ओझाले भने, ‘स्थानीय खेलाडीको स्तर वृद्धि गर्न एउटा टिममा एक जना राष्ट्रिय स्तरको खेलाडी सहभागी बताउन पाउने व्यवस्था गरेका छौं ।’

खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने टिमले ८० हजार र तेस्रो हुने टिमले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागततर्फ वेस्ट प्लेयरले ३ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र अनुशासित टिमले जनही २ हजार पुरस्कार पाउनेछन् ।

गाउँपालिका अन्तर्गत ७ वटै वडामा लोप हुँदै गएका विभिन्न जातजातिका संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रदर्शन प्रतियोगितासमेत आयोजना गरिएको अध्यक्ष ओझाले सुनाए । झाँकी प्रदर्शन बढीमा ३५ जना सहभागी हुन पाउनेछन् । ५ जना ३० वर्ष कम उमेर समूहका हुनुपर्ने नियम बनाइएको छ ।

कला, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न ३० वर्षभन्दा कम उमेरकालाई झाँकी प्रदर्शनमा सहभागी गराउने नियम बनाइएको अध्यक्ष ओझाको भनाइ छ । झाँकी प्रदर्शनीका विजेताले ३० हजार, दोस्रो हुने समूहले २० हजार र तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । झाँकी प्रदर्शनीमा आउने समूहलाई ५ हजार यातायात र २ हजार खाना खाजा उपलब्ध गराउने आयोजनले जनाएको छ ।

माला बुन्ने प्रतियोगिताका विजेतालाई ६ हजार ६ सय ६७, दोस्रो हुने समूहलाई ४ हजार र तेस्रो हुने समूहले २ हजार ६ सय ६७ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । माला बुन्ने प्रतियोगितामा स्थानीय सामग्रीको प्रयोग गर्नुपर्ने र बाह्य वस्तुहरु जरी, फूल लगायतका कुनै पनि सामान प्रयोग गर्न नपाइने नियम बनाएको गाउँपालिका अध्यक्ष ओझाको भनाइ छ ।

रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई योगदान गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । रुपा रत्न सम्मानमार्फत उनीहरुलाई सम्मान गरिनेछ ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने अध्यक्ष ओझाले बताए । कार्यक्रम सञ्चालनका लागि गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

गाउँपालिकामा युवा तथा खेलकुदको विकासका लागि एक वडा एक खेल मैदान निर्माण कार्य सञ्चालनमा गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । गाउँपालिका स्तरीय कवर्ड हल र प्यारापिट सहितको स्टेडियम निर्माण कार्य पनि प्रदेश र केन्द्रिय सरकारसँग समन्वय गरि निर्माण भइरहेको उनले बताए ।

युवालाई खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व विकास गर्ने उद्वेश्यले स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने उदघोषका साथ रूपा गाउँपालिका स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर रूपमा अध्यक्ष कप खुला पुरूष भलिवल प्रतियोगिता, रूपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता गर्दै आएको छ ।

स्थापना दिवसमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगता लगायतका कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनको अनुसार स्थापना दिवसका अवसरमा  विगतका वर्षहरु झैँ गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने छ। स्थापना दिवसको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने पालिकाले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्