News Portal

प्रेसको राय र सल्लाह अनुसार आगामी कार्य गर्ने : कानुन मन्त्री गाहा

प्रेसको राय र सल्लाह अनुसार आगामी कार्य गर्ने : कानुन मन्त्री गाहा

फेवाखबर संवाददातापोखरा ,३ फागुन ।
१९२ पटक
पोखरा ,३ फागुन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरूसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले आज (मङ्गलवार) अन्तरक्रिया गरेका हुन् ।सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको बताए ।

उनले मिडिया विधेयक पारित गर्ने सन्दर्भमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौँ, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरूसँग आवश्यक छलफल गरेर यहाँहरूको समस्या सम्बोधन गर्ने कुरामा म सकारात्मक छु । त्यसैले यहाँहरूको राय अनुसार नै अघि बढ्नेछु ।’ मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउँदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिए पनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने सुनाए । यसै गरी उनले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउँदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताए । ‘दुई वटा मन्त्रालय समायोजन भएको छ ।

र कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी कामहरू सकिन्छ । त्यसपछि नीतिगत रूपमा कामहरू अगाडी बढ्नेछ ।’ मन्त्री गाहामगरले भने । उनले फरक प्रसङ्गमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्नेसमेत बताए । उनले आगामी दिनमा समेत पत्रकारहरूसँग समन्वय र सहकार्य गर्दै सकारात्मक काममा अघि बढ्ने धारणा राखेका थिए । अन्तरक्रियामा मन्त्रालयले हालसम्म गरेका गतिविधिको फेहरिस्तसमेत सार्वजनिक गरेको थियो । कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सो कार्यक्रमको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत खुबीराम पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्