News Portal

पृथ्वी नारायण क्याम्पसले दाबी गर्दै आएको जग्गा :पराजुली परिवारकै भएको दाबी

फेवाखबर संवाददातापोखरा ,२१ माघ ।
२१४ पटक
पोखरा ,२१ माघ ।

पृथ्वी नारायण क्याम्पसले दाबी गर्दै आएको पोखरा

महानगरपालिका वडा नं.१ स्थित कित्ता नम्बर ८३३ को जग्गा साठीघरे पराजुली समाजले आफुहरुको भएको दाबी पहिलेदेखि नै भएको बताएका छन् । शुक्रबार समाजले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै क्याम्पसले दाबी गरेको उक्त जग्गा आफहरुले धेरै वर्ष पहिलेबाट नै हकभोग गर्दै आएको समेत बताएका छन् ।

यसअघि गत पौष २१ गते पृथ्वी नारायण क्याम्पसले सो जग्गा क्याम्पसको भएको र क्याम्पसले नै धेरै समय अगाडीबाट भोगचलन गर्दै आएको भएतापनि पछिल्लो समय जग्गाको मुल्य आकाशियसँगै भुमाफियाहरुले सो जग्गा हडप्नेदेखि लिएर व्यक्तिको नाममा लैजाने प्रयास भएको बताएको थियो । त्यसैको जवाफ स्वरुप साठीघरे पराजुली समाजले पौष २४ गते विज्ञप्ति जारी गर्दै क्याम्पसले दाबी गर्दै आएको आफुहरुको जग्गा भएको र क्याम्पस प्रशासनले सरासर झुठ बोल्ने काम गरेको बताएको थियो ।

समाजले क्याम्पसले जुन ढंगबाट पराजुली परिवारमाथि आरोप लगाएको थियो त्यसको आज खण्डन समेत गरेको छ । समाजका अध्यक्ष विश्व गोपाल पराजुलीले क्याम्पसले भ्रामक र कपोकल्पित आरोप लगाएर पराजुली परिवारको जग्गा क्याम्पस मातहत लैजाने दुरुसाहस गरेको प्रति घोर आपत्ति जनाएका छन् ।

क्याम्पसले दाबी गरेको जग्गा पराजुली परिवारका जिजुबाजे पण्डित रत्खार पराजुलीले वि.सं. १८७७ मा लालमोहरबाट प्राप्त गरेको जग्गा भएको समाजको दाबी छ । आफुहरुले जग्गा प्राप्ति गरेदेखि नै पराजुली परिवारले भोगचलन गर्दै आएको र २०१५ सालमा पोता लागतसमेत तिर्दै आएकाले उक्त जग्गा आफुहरुको जिजुबाजे रत्नाखर पराजुलीकै भएको तथ्य स्पष्ट भएको जानकारी दिएका छन् ।

समाजले उक्त जग्गा २०१६ सालमा विर्ता उन्मुलन हुँदा भोगचलन गर्ने विर्तावाल पराजुलीहरुबाट रैकरमा परिणत गर्न माग गरे बमोजिम रैकरमा प्रमाणित गरेर भोगचलन गर्दै आएको तर २०३२ सालमा नापी हुँदा दर्ता छुट हुन गएको बताएको छ । तर सरकारको नीति परिवर्तनपछि हकभोगको प्रमाण कागजातसहित दर्ताका लागि प्रक्रिया अगाडी बढाएको पनि समाजले जनाएको छ ।

समाजका अनुसार क्याम्पसले उक्त जग्गा आफ्नो हो भनेर हकभोगको प्रमाण मालपोत कार्यालयमा पेश गर्न नसकेको दाबी गरेको छ । त्यस्तै क्याम्पस प्रमुख परिवर्तन हुँदै गर्दा सो जग्गाका बारेमा फरक निर्णय गर्दै आएको र २०५५ साल फाल्गुन २५ मा उक्त जग्गामा आफ्नो दाबी नरहेको भन्ने व्यहोराको पत्र लेखेको समेत स्पष्ट पारेका छन् ।

समाजका अध्यक्ष पराजुलीले २०५६ फाल्गुन २३ गते तत्कालिन क्याम्पस प्रमुखले भुमिसुधार मन्त्रीलाई पत्र लेखेर सो जग्गा पराजुलीहरुको हो भनि स्वीकार गर्दै मुआब्जा दिई सो जग्गा क्याम्पसको नाममा ल्याउन पत्राचार गरेको पनि बताएका छन् । उनले आजको पत्रकार सम्मेलनमा त्यसबेला लेखिएको पत्र समेत सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस्