मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नितको काम शुरु गरेको छ ।
(शहित थिरबम योगन्द्रमान मार्ग) पोखरा—बाग्लुङ राजमार्ग अन्तर्गत पोखराको हरिचोकदेखी याम्दीपुलसम्मको सडक स्तरोन्नितको कामका लागि ८ घण्टा बन्द गरेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो ।
आयोजनाका अनुसार प्रत्येक दिन विहान ११ बजेदेखी ३ बजेसम्म र बेलुका ९ बजेदेखी राती १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तिब्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिले जनाएको छ ।
चौवारीबाट ५० मिटर अगाडि हेमजातर्फ भीरको उचाई धेरै भएकाले भीर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधा/आधा घण्टामा रोकिएका सवारी साधन छुट्ने व्यवस्था मिलाइएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने सवारी साधनहरुले साधन रोक्दा र चलाउँदा कडाईका साथ आफ्नो लेन अनुसाशन कायम राख्न र सवारी साधन लामवद्ध भएको अवस्थामा ओभरटेक नगर्न आग्रह गरेको छ ।
जौवारीतर्फबाट जाने सवारी साधनलाई सिमपानीचोक—बगर— शिक्षा कार्यालय—केआइसिँह पुल—दीप हाउजिङ हुँदै नयाँपुल र हलुका सवारी साधनलाई विन्ध्यवासिनीचोक—सराङकोट—कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग समेत आग्रह गरेको छ ।
यसैगरी हेमजातर्फबाट आउने सवारी साधनहरु जौवारीपुल—दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा—कास्कीकोट—सराङकोट हुँदै विन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।