
कास्की, – नेपाल डेण्टल एसोसिएशन, कास्की शाखाको २०८२-८४ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ। निर्वाचन प्रदेशका विभिन्न दन्त चिकित्सकहरूको सहभागितामा श्रावण १० गते सम्पन्न भएको थियो। नयाँ कार्यसमितिले भाद्र १ गते औपचारिक रूपमा पदभार ग्रहण गरेको छ।
नव–निर्वाचित अध्यक्ष डा. सुदिप गिरीले कास्कीमा दन्त चिकित्सकबीचको आपसी सम्बन्ध र भाइचारालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले तालिम र सम्मेलन (CDE) कार्यक्रममार्फत दन्त चिकित्सकको सीप अभिवृद्धि, दन्त उपचारको पहुँच र गुणस्तर सुधारमा विशेष ध्यान दिनका लागि योजना बनाउनुभएको छ।
यसैगरी, डा. गिरीले ‘कुट–चिकित्सा’ (quackery) को निर्मूलन प्राथमिकता दिइने जानकारी गराउनुभएको छ। यसका लागि उहाँले केन्द्रिय नेपाल डेण्टल एसोसिएशन, नेपाल मेडिकल काउन्सिल, र स्थानिय तथा प्रदेश सरकारसँग घनिष्ठ समन्वय गर्ने योजना बनाई रहेको बताउनुभएको छ।
नयाँ रुपमा चयन भएका उपाध्यक्ष डा. पुरन विश्वकर्मा, महासचिव डा. आशीष कुँवर सिंह, कोषाध्यक्ष डा. नीता थापा केसी, सह-सचिव डा. सन्ध्या पौडेल बराल, र अन्य सदस्यहरू डा. अनुपा वाग्ले, डा. अनुप ओझा, डा. पवन पाठक र डा. अन्जल जिसीले पनि आफ्नो कार्यकालको जिम्मेवारी सम्हाल्दै दन्त चिकित्साकर्मीका लागि विशेष कार्यक्रम र गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
यस नयाँ नेतृत्वले दन्त चिकित्सा क्षेत्रको गुणस्तर र पहुँचलाई थप सुधार्ने पहल गर्दै कास्की प्रदेशका दन्त चिकित्सकहरूका लागि सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।