
मोरङको धनपालथान गाउँपालिका –४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाका मुख्य आरोपी शम्भुप्रसाद रौनियार जिल्ला अदालत मोरङमा हाजिर भएका छन् ।
रौनियार सहकारीको अध्यक्ष हुन् ।
सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि फरार रहेका रौनियार सोमबार जिल्ला अदालतमा हाजिर भएका हुन् । आज उनको बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान भइरहेको छ । भालि पनि उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।
उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना प्रतिवादी छन् ।
सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।
मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सहकारीको बचत अपचलन मुद्दामा फरार रहेकी सांसद पोखरेल पत्नी अन्जला गत २४ पुसमा अदालतमा उपस्थीत भएकी थिइन् । बयान र थुनछेक बहसपछि सोही दिन अदालतले कोइराला पनि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर उनी छुटेकी थिइन् ।