
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरुमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनुभएको हो । उहाँले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनु भयो । प्रमुख सचेतक परियारले सत्तारुढ दलहरुले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरुले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताउनु भयो । आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरुले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उहाँको भनाई थियो । प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद आम जनता सडकमा ओर्लने दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘भर्खरै पनि म प्रजातन्त्रहरु कसरी मारिन्छन् भन्ने किताव पढिरहेको छु । किन प्रजातन्त्र निर्वाचित मान्छेहरुले, नेताहरुले मार्छन् भन्नेकुरा पढिरहेको छु । आज सम्मानित पदलाई परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिया भन्ने राजनीतिक पार्टीहरु गुपचुपमा सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्–राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला, यो देशले एउटता सम्मानित पद गुमाउला । तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधै लडनेछ । जनताको पक्षमा लडनेछ । सम्मानीय सभामुख महोदय, म यहाँ निवेदन गर्न चाहन्छु–के नेपाली लोकतन्त्र यति कमजोर हो ? के नेपाली लोकतन्त्रको हुर्मत मिडियाबाट लिने हो ? के राजनीतिक पार्टीहरु कुन संस्थालाई कसरी निकम्मा बनाउने, कुन राजनीतिक पार्टीसँग कसरी द्धेष साँध्ने भनेर सल्लाह गर्ने हो ? तपाईहरुले खेलेको इतिहासको भुमिकाको आज प्रतिफल यही हो ? म विनम्रताका साथ मेरा आदरणीय राजनीतिक पार्टीका अग्रज नेताहरुलाई निवेदन गर्न चाहन्छु । लोकतन्त्रमाथि धाँवा नबोल्नुस । आज सहज होला, भोली अप्ठयारोमा तपाईलाई नै पार्नसक्छ । कृपया, यो पछिल्लो पुस्ताको उन्नत राजनीतिक चेतनाको राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर लोकतन्त्रको लागि ढाल भएर कार्य गर्नेछ । राजनीति गर्नेछ । यो हाँस्ने कुरा होइन । यो कुनै सल्लाह गर्ने कुरा होइन । लोकतन्त्रलाई यसरी सल्लाह गरेर मारिन्छ भने हामीलाई विश्वास छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास छ–तमाम नेपाली जनताहरु लोकतन्त्रको लागि सडकमा ओर्लने छन । र राजनीतिक पार्टीहरुका विरुद्ध आन्दोलन गर्नेछन् । सम्माननीय सभामुख महोदय, म एउटा लोकतन्त्रको विद्यार्थी हुँ । नेपाली समाजलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर आफ्नो एउटा पेशा छोडेर राजनीतिमा आएको हो । एउटा कुरा स्मरण गराउन चाहन्छु–यसरी हाम्रो पुस्ताको चेतनामाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रलाई मार्ने र जनताको संवैधानिक अधिकारहरुलाई हनन गर्ने प्रयास कृपया गरिन्छ भने एक वर्ष तपाईले जित्नु होला, २ वर्ष तपाईले जित्नुहोला । स्मरण रहोस्–तपाईहरुले आफैँले खनेको खाल्डोमा आफै पर्नु हुनेछ । यो पनि लेखेर राख्नुस् । म यो सम्मानित सदनमा असाध्यै राम्रो भाषा बोल्नुपर्छ भन्ने मान्छे । लोकतन्त्रको उन्नत अभ्यास हुनुपर्छ । तर यसरी राजनीतिक पार्टीहरु नै लोकतन्त्रमाथि आक्रमण गर्न लाग्छन । त्यसपछाडि जनताको लागि एउटै ठाउँ हुन्छ–जनताको साथ र सडक । आजको दिनमा यतिमात्रै भन्न चाहन्छु–हामीले खवर मात्रै सुनेका छौं । तपाईहरुका फोटो पनि बग्रेल्ती आएका छन । समाचारहरु पनि आएका छन । संख्यामा नाउमा मात्रै, शक्तिको आडमा मात्रै यो राज्य चल्छ । र यो राज्यमा जे पनि गर्न सकिन्छ भन्ने तपाईहरुको बुझाई हो भने म एकचोटी विनम्रताका साथ अनुरोध गर्न चाहन्छु–जनताको सार्वभौमसत्ताको अगाडि कुनैपनि सत्ता टिकेको छैन, टिक्ने छैन भन्न चाहन्छु । ’
प्रमुख सचेतक परियारले लोकतन्त्रमा सत्ता र शक्तिको आडमा जे पनि गर्न सकिन्छ भन्ने भ्रमण सरकारले पाल्न नहुने बताउनु भयो ।