News Portal

राष्ट्रपति रामचन्द्र पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पा तानसेनमा

फेवाखबर संवाददाता
८५ पटक

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन पुग्नुभएकाे छ। उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएकाे थियाे।

जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा जानुभएकाे छ। तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ। नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ।

विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयाे। उहाँका अनुसार भगवतीको रथ निकालिने दिन आज नै अमननारायणको समेत रथ निकालिने भएको छ। यस वर्ष भगवती र अमननारायणको रथ निकाल्न तिथि एकैदिन परेको छ। भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ। भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजीरेश्वरी भगवतीको मन्दीरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले जानकारी दिनुभयाे।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राका रुपमा परिचित छ। कर्णेल उजीरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रुपमा सञ्चालन गरिँदै आएको छ।

प्रतिकृया दिनुहोस्