News Portal

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

फेवाखबर संवाददाता
८० पटक

१९ असार,  । संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलरभन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बताएका छन् ।

‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका हुन् ।

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको एपीले जनाएको छ ।

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ ।

‘यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । अहिले युक्रेनलाई मद्दतको खाँचो छ,’ ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भने ।

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ ।

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताए ।

घोषणापछि उमेरोभले अस्टिनलाई उनको समर्थनका लागि धन्यवाद दिए । साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताए ।

‘आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,’ नेटोबारे रक्षामन्त्री उमेरोभले भने ।

प्रतिकृया दिनुहोस्