News Portal

इंग्ल्याण्डलाई पराजित गर्दै भारत टी-२० विश्वकपको फाइनलमा

इंग्ल्याण्डलाई पराजित गर्दै भारत टी-२० विश्वकपको फाइनलमा

फेवाखबर संवाददाता
१० पटक

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। गएराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

१७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो। त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए।

इंग्ल्याण्डका लागि ह्यारी ब्रूकले बनाएको २५ रन सर्वाधिक रह्यो। कप्तान तथा ओपनर जोश बट्लरले १५ बलमा चार चौका हानेर २३ रन बनाएका थिए। जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का हानेर २१ रन बनाए।

लियाम लिभिङस्टोनले ११ रन जोडे। त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर फिल सल्ट ५ रन, मोइन अली ८ रन, साम करण २ रन, क्रिस जोर्डन १ रन, आदिल रसिद २ रनमा आउट हुँदा जोनी बैर्स्टो शून्यमा आउट भए।

पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७१ रन बनाएको थियो। त्यस क्रममा कप्तान तथा ओपनर रोहित शर्माले अर्धशतक हाने। उनले ३९ बलमा ६ चौका र २ छ्क्का हानेर ५७ रन बनाए।

त्यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४७ रन जोडे। हार्दिक पाण्ड्याले १३ बलमा २३ रन बनाउँदा १७ रन बनाउँदै रवीन्द्र जडेजा नट आउट रहे।

ओपनर विराट कोहली ९ रन र  रिशभ पन्त ४ रनमा आउट हुँदा शिवम् दुबे शून्यमा आउट भए। बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा अदिल रिस टोप्ले, जोफ्रा आर्चर, साम करण र अदिल रसिदले १/१ विकेट लिए। भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग आज खेल्नेछ।

प्रतिकृया दिनुहोस्