News Portal

मणिपाललाई २० करोड छुट दिने पाेखरा महानगरकाे निर्णय बदर

मणिपाललाई २० करोड छुट दिने पाेखरा महानगरकाे निर्णय बदर

फेवाखबर संवाददाता
१४ पटक

पोखरा ११,
पोखरा महानगरले वडा नम्बर ११ मा रहेको मणिपाल शिक्षण अस्पताललाई कर छुट दिने निर्णय बदर गरेको छ । घरनक्सा पासमा २० करोड छुट पाएको मणिपालले अब थप रकम तिर्नुपर्ने भएको छ ।

आर्थिक वर्ष ०७९/०८० मा महानगर कार्यपालिकाले मणिपालको निर्माण सम्पन्न प्रमाणपत्र दिन कर छुट दिने निर्णय गरेको थियो । महानगरको १५ औं नगरसभाको आरम्भमै मेयर धनराज आचार्यले मणिपाललाई कर छुट दिने निर्णय बदर भएको सुनाउँदै कर यकीन गर्न समिति गठन गर्न प्रस्ताव गरेका थिए ।

सभा सुरु हुनुअघि नै आफूहरुले मेयरलाई मणिपालको कर छुट बदर र थप छानबिन गर्नुपर्ने भन्दै दबाब दिएको र सोही अनुसार मेयरबाट सभामा प्रस्ताव पनि आएको पोखरा ५ का वडाध्यक्ष विष्णु बरालले बताए । ‘हामी एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले दबाब दियौं र समिति गठन भयो,’ उनले भने, ‘कार्यपालिकाबाट नभएको निर्णय भएको भनेर कसले छिरायो भन्ने पनि छानबिन हुनुपर्छ ।’ उनले राजस्व परामर्श समितिले कर छुटको सिफारिस नगरेको पनि सुनाए ।

महानगरले मणिपाललाई करिब २० करोड कर छुट दिएपछि महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ । २०५३ मा बनेको मणिपाल शिक्षण अस्पताललाई महानगरको ०७९ चैत १० गते भएको बैठकले २० करोड कर छुट दिएर १ करोड ७५ लाख लिई निर्माण सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको महालेखाको प्रतिवेदनबाट खुलेको थियो ।

मेयर आचार्यको प्रस्तावपछि वडाध्यक्ष र वडा सदस्यहरुले मणिपाल प्रकरणले आफूहरुको शिर निहुरिएको भन्दै सत्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए । उनीहरुले कसरी र किन त्यसरी मणिपाललाई कर छुट दिइयो छानबिन गर्नसमेत आग्रह गरे ।

प्रतिकृया दिनुहोस्