News Portal

घोराहीमा गुठीपीडित किसान र प्रहरीबीच झडप, १० सेल अश्रु ग्यास प्रहार

फेवाखबर संवाददाता
३० पटक

दाङको घोराहीमा गुठी पीडित किसान र प्रहरी प्रशासनका बीचमा झडप भएको छ।

स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार झडपमा परी दस जना प्रहरी र ५ जना किसान घाइते भएका छन्।

एसपी केसीका अनुसार घाइतेमध्ये एक जना प्रहरीको ढुँगाले लागेर दाँत भाँचिएको छ ।

‘गुठी पीडित किसानको नाममा हुलहुज्जत गरी मालपोत र नापी कार्यालयमा जोर जवरजस्ती खोज्नेहरुलाई प्रहरीले रोक्न खोजेको थियो,’ एसपी केसीले भने ‘ त्यही क्रममा उनीहरुले प्रहरीमाथि ढुँगामुढा गरेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको हो।’

प्रहरीले गुठी पीडित किसानमाथि लाठी चार्ज गर्नुका साथै १० सेल अश्रु ग्याससमेत प्रहार गरेको एसपी केसीले बताए ।

घाइते किसान र केही प्रहरीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार जारी छ। गुठी पीडित किसानका अगुवाहरुले भने प्रहरीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन् ।

आफूहरूले जोतभोग गर्दै आएको गुठीको जमिनको लालपुर्जा नपाएको भन्दै उनीहरू लामो समयदेखि आन्दोलनरत छन्।  यसअघि घोराहीमा बिभिन्न चरणका आन्दोलनहरु गरेका थिए । उनीहरुले हलो जुवासहित सडकमै सुतेर रित्तो थाल ठटाउँदै प्रर्दशन गरेका थिए।

गुठी पीडित किसाको आन्दोलनलाई उतिखेरको  मुख्य प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले सघाएका थिए।

एमालेका यसअघिका अध्यक्ष हुकुमबहादुर बस्नेत, अहिलेका उपाध्यक्ष तथा तत्कालीन सचिव मनोहर बुढाथोकी लगाएका नेताहरुसमेत त्यो आन्दोलनमा चरणबद्ध रुपमा सहभागी भएका थिए ।

तर, सत्ता समिकरण परिवर्तन भएपछि सरकार र गुठी पीडित किसानका बीच काठमाडौंमा सहमति भएको थियो। अहिलेसम्म सहमति कार्यान्वयन नभएपछि पुनः आन्दोलन गर्न लागेको उनले बताए।

झडपपश्चात पनि केही गुठीपीडितहरू मालपोत र नापी कार्यालयमा धर्ना दिइरहेका छन्।

प्रतिकृया दिनुहोस्