News Portal

सांसदलाई जे लगाए पनि छुट, नागरिकलाई किन रोकावट ? संसद्‌मा उठ्यो पोशाकको प्रश्न।

फेवाखबर संवाददाता
३१ पटक

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबार र संसद् भवनमा सांसद र नागरिकले लगाउने पोशाकमा समानता नरहेको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले समानताका लागि सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

न्यौपानेले सबैका लागि समान व्यवस्थाका लागि सभामुख देवराज घिमिरेसँग रुलिङको मागसमेत गरेकी छन् ।

दूरदराजका नागरिकलाई काठमाडौं आउनै गाह्रो हुने र काठमाडौं आएको बेला संसद् भवन हेर्न खोज्दा पोशाकका कारणले समेत समस्या हुने गरेको उनको भनाइ छ ।

किन दर्शकदीर्घामा जानबाट रोकिएको भनेर आफूले प्रश्न गर्दा ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन्’ भनिएको उनले बताइन् ।

यस्तो जवाफ सुनेर आफू आश्चर्यजनक भएको पनि उनले सुनाइन् । यो सरकारको नियम होला भनेर आफूले मनमा दबाएर राखेको तर, त्यस्ता घटना दोहोरिरहेपछि उठाउनु परेको उनको भनाइ छ ।

यस्तै घटना आफूसँग समेत सम्बन्धित भएको उनले सुनाइन् ।

‘अस्ति म सिंहदरबारमा एउटा भइको बाइकमा जाँदै थिएँ । मैले आफ्नो आईडी देखाएँ, भित्र गएँ । तर, प्रहरी दगुरेर मेरो पछाडि आइराख्यो । म अचम्मित भएँ । उत्रिएर सोधेँ किन दगुरेको ? माननीयज्यू तपाईंलाई होइन, त्यो भाइलाई रोकेको भन्नुभयो’ सांसद न्यौपानेले भनिन् ।

भाइलाई किन रोकेको भन्दा ‘भाइले हाफ पाइन्ट लगाएको छ जान पाउँदैन’ भन्ने जवाफ पाएको र यसबाट आफू अचम्मित भएको पनि उनले सुनाइन् ।

आफूले संसद्‌मा पुरुष माननीयहरूलाई हेरेको र उनीहरूले चप्पल लगाएको पाएको सांसद न्यौपानेले बताइन् । संसद्‌मा मर्यादित ड्रेस लगाएर आउने कति छौं भनेर पनि आफूले नियालेको उनले सुनाइन् ।

उनले प्रश्न गरिन्, ‘हामी साडीम आउँछौं कि, सर्ट, पाइन्ट र कोट लगाएर आउछौं कि ? हामी आफ्नो मातृ ड्रेस लगाएर आउँछौं कि ? यसमा किन आपत्ति ?’

आफूले स्कुल पढ्ने बेलामा फ्रक लगाएको स्मरण गर्दै उनले प्रश्न गरिन्, ‘यो संसद्‌मा कोही फ्रक लगाएर आउनुभएको छ, कोही टि सर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही दम्पर लगाएर आउनुभएको छ । कोही गरारा भन्छ, कोही सरारा भन्छ । हामीलाई सबै छुट अनि जनतालाई चाहिँ त्यसमा बन्देज ?’

नियम बनाउने सांसदहरूलाई जस्तो लगाएर पनि संसद्‌मा जान पाउने छुट किन भन्ने उनको प्रश्न छ । ‘हामी माननीयले जस्तो लगाएर यहाँ आए पनि भयो । नौरङ्गी फेसन लगाएर आए पनि हुन्छ, हामीले केही गर्न नपर्ने’ उनी थप्छिन्, ‘जनताहरू हाफपाइन्ट लगाएर सिंहदरबारमा प्रवेश नपाउने ? चप्पल लगाएर संसद्को दर्शकदीर्घामा जान नपाउने किन ?’

यो अत्यन्तै अप्ठा्यारो विषय भएको उल्लेख गर्दै उनले सभामुखसँग रुलिङको माग गरेकी छन् । सांसदहरू सबै ड्रेस लगाएर हिँड्न पाउने भएपछि जनताले हाफपाइन्ट लगाएर सिंहदरबार र संसद् भवनमा प्रवेश नपाउनुको कारण सरकारले दिनुपर्ने उनको माग छ ।

नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउने भनेर अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर रुलिङ गरिनुपर्ने उनको माग छ ।

प्रतिकृया दिनुहोस्