News Portal

पोखराका बाबुराम पन्त औद्योगकि क्षेत्र व्यवस्थापनको अध्यक्ष नियुक्त

फेवाखबर संवाददाता
४३२ पटक

पोखरा
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा पोखराका उद्योगी बाबुराम पन्त नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदको भदौ २९ को बैठकले पन्तलाई अध्यक्ष नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ अनुसार उनलाई नियुक्त गरिएको हो ।

पन्तको कार्यकाल बढीमा ३ वर्षको हुनेछ । अध्यक्ष नियुक्तिको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज २ गते पन्तलाई पठाएको छ । निर्देशिका अनुसार अध्यक्षका लागि चाहिने योग्यतामा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव हाँसिल गरेको हुनुपर्छ । पन्त त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक हुन् ।

सम्बन्धित क्षेत्रमा उनको २५ वर्षको अनुभव छ । अध्यक्षका लागि ३५ वर्ष पूरा भएको हुनुपर्ने पनि प्रावधान छ । पन्त ५६ वर्ष पुगिसकेका छन् । मन्त्रालयका सचिव संयोजकत्वको ३ सदस्यीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदले पदाधिकारी नियुक्त गर्ने व्यवस्था निर्देशिकामा छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका सम्बद्ध सार्वजनिक निकायमा उदयपुर सिमेन्ट उद्योग, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, नेपाल ओरिन्ड म्याग्नेसाइट (प्रा.) लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल औषधि लिमिटेड, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, हेटौडा सिमेण्ट उद्योग लिमिटेड, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, नेपाल इन्टरमोडल यातायात विकास समिति, नेपाल आयल निगम लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगर जुट मिल्स लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड र धौबादी फलाम कम्पनी लिमिटेड पर्छन् ।

अध्यक्ष नियुक्त भएपछि प्रतिक्रिया दिदै पन्तले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म नेपालको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफूले राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘औद्योगिक विकास बिना मुलुकको समृद्धि सम्भव छैन,’ उनले भने, ‘समुन्नत अर्थतन्त्रका लागि औद्योगिक क्षेत्रको व्यवस्थापन र विकासमा जोड दिन आवश्यक छ ।’

प्रतिकृया दिनुहोस्