News Portal

गण्डकी प्रदेशमै पहिलोपटक गरियो ओपन हार्ट सर्जरी

फेवाखबर संवाददाता
१७४ पटक

पोखरा
वरिष्ठ मुटुरोग विशेषज्ञ उपप्रध्यापक डा अनिल भट्टराईको नेतृत्वमा गण्डकी प्रदेशको पोखरामा पहिलोपटक ओपन हार्ट सर्जरी सफल भएको छ । पोखरा नागढुंगाको चरक मेमोरियल अस्पतालमा गत शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २०, भलामका ४५ वर्षीय विष्णु गौतमको मुटुको ओपन हार्ट सर्जरी गरिएको अस्पतालले जनाएको छ ।

यो गण्डकी प्रदेशमै पहिलोपटक गरिएको सर्जरी हो । यसअघिसम्म सर्जरीका लागि काठमाडौं, चितवनमा जानुपर्ने बाध्यता थियो । २६ साउनमा सर्जरी गरिएका बिरामी गौतम आइतबार डिस्चार्जसमेत हुँदैछन् । डाक्टरहरुका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएको थियो ।

हात र घाँटीको नसा मुटुमा हालेर सर्जरी गरिएको डा भट्टराईले जानकारी दिए । पोखरामै ओपन हार्ट सर्जरी सेवा सुरु हुँदा सर्जरी गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको डा भट्टराईले बताए ।

‘अन्य धेरै कुरामा पोखरा अगाडि भए पनि मेडिकल साइन्समा हामी पछाडि नै छौं । अर्थात चिकित्सातर्फ एकदमै कम विकास भएको छ । मुटुको ओपन हार्ट सर्जरी काठमाडौं, चितवनमा सुरु हुँदा पोखरामा हुन सकेको थिएन । अब पोखरामा पनि सुरु भएको छ । यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने ।

प्रतिकृया दिनुहोस्