News Portal

नयाँ सत्ता गठबन्धनको प्रभाव : नेकपा एमालेका झन्डै १०० महत्त्वपूर्ण पद धरापमा !

फेवाखबर संवाददातापोखरा ,१३ फागुन ।
१८७ पटक
पोखरा ,१३ फागुन ।

राजनीतिक समीकरण र सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमालेले झन्डै एकसय भन्दा बढी राज्यसत्ताका महत्त्वपूर्ण पदहरू गुमाउने देखिएको छ । राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहितका दलहरूले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि नेकपा एमालेले सरकार छाड्ने सङ्केत गरिसकेको छ । यद्यपि सरकार छाड्ने/नछाड्ने भन्ने औपचारिक निर्णय शनिबार बस्ने सचिवालय बैठकले गर्नेछ । शनिबारको बैठकले नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेमा उसले राज्यसत्ताका महत्त्वपूर्ण धेरै पदहरू गुमाउने निश्चित छ ।

शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच भएको संवादमा अध्यक्ष ओलीले नेकपा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमा सहयोग नगरे सरकारबाट बाहिरिने सम्मको धम्की दिएका थिए । ओलीसँगको भेटवार्ता लगत्तै बालुवाटारमा भएको आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले ओलीसँग भएको संवाद सहमतिमा पुग्न नसकेको बताएका थिए ।

­बालुवाटार बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र महतोले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै भने,‘मैले सहकार्यका लागि नेकपा एमालेलाई मनाउन सकिनँ, त्यसपछि ओलीजी रिसाएर बैठकबाट बाहिरिनुभयो ।

प्रचण्ड ओलीको यो संवादबाट पनि नेकपा एमाले सरकारमा बस्ने सम्भावना कम भएको छ । यदि त्यो अवस्थामा नेकपा एमालेले राष्ट्रपतिसहित प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, मुख्यमन्त्रीहरू र प्रदेश सभामुख र उपसभामुख तथा प्रदेशका मन्त्रीहरूलगायतका मुख्य पदहरू गुमाउन नेकपा एमाले बाध्य हुनेछ ।

प्रतिनिधि सभाको सभामुख पद भने जोगिने नै देखिन्छ । किनभने प्रतिनिधि सभाको सभामुख हटाउन दुई तिहाइ मत आवश्यक हुने भएकाले तत्कालै बनेको समीकरणमा त्यो सम्भावना नहुने देखिएको छ ।

मङ्सिर ४ को आम निर्वाचनपछि नेकपा एमाले र नेकपा माओवादीबीच प्रधानमन्त्री ५ वर्षे कार्यकालमा आधा आधा र राष्ट्रपति एमालेले पुरै कार्यकाल लिने सहमति भएको थियो । सोही अनुसार नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते प्रधानमन्त्री बनेका थिए ।

पुस १० मा नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति निर्वाचनका क्रममा फरक कित्तामा उभिएसँगै नेकपा एमाले सरकारबाट हट्न बाध्य हुने र राज्यका महत्त्वपूर्ण पदहरू गुमाउने अवस्थामा पुग्ने भएको हो । त्यस क्रममा केन्द्रमा नेकपा  एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्री र राष्ट्रिय सभाको एक अध्यक्ष पद गुमाउने छ ।

हाल राष्ट्रिय सभामा नेकपा एमालेका नेता गणेश तिमिल्सिना अध्यक्ष छन् । सत्ता समीकरणमा हुने फेरबदलले राष्ट्रिय सभामा नेकपा एमाले अल्पमतमा पर्ने र उनलाई समेत हटाउन सक्ने देखिन्छ । नेकपा एमाले सरकारबाट बाहिरिएपछि सत्ता समीकरण फेरिने निश्चित छ । यो अवस्थामा नेकपा एमाले सरकारबाट बाहिरिँदा राष्ट्रिय योजना आयोगका तीन सदस्य पनि नेकपा एमालेको हातबाट गुम्ने देखिन्छ ।

शुक्रबारको बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डले आठै दललाई सरकारमा सहभागी हुन आग्रह गरिसकेका छन् । त्यो अवस्थामा नेपाली कांग्रेस नेतृत्वमा नयाँ सत्ता समीकरण बन्ने भएकाले केन्द्रबाहेक नेकपा एमालेलाई प्रदेशमा पनि धक्का लाग्ने छ । त्यसबेला तीन वटा प्रदेशका मुख्यमन्त्री पनि नेकपा एमालेले गुमाउन बाध्य हुनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा एमालेका मुख्यमन्त्री छन् । तीन मुख्यमन्त्रीसहित मधेस प्रदेश र कर्णाली प्रदेशका सभामुख र सुदूरपश्चिमको उपसभामुख पनि नेकपा एमालेले गुमाउनेछ ।

त्यसपछि ६ वटा प्रदेशका मन्त्रीहरू २४ जना पनि नेकपा एमालेले गुमाउनुपर्नेछ ।

यसक्रममा मिनी संसद् मानिने केन्द्रदेखि प्रदेश सम्मका संसदीय समितिहरूको नेतृत्वबाट पनि नेकपा एमाले टाढा पुग्नेछ । केन्द्र र प्रदेशमा झन्डै ८० वटा संसदीय समितिमध्ये झन्डै ४० वटा समितिमा नेकपा एमालेले सभापतिसहित समिति सदस्यहरू पाउने निश्चित भएको अवस्थामा नेकपा एमालेले ती पदहरूसमेत गुमाउन पुग्नेछ । यो सँगै प्रदेश प्रमुख र राजनीतिक रूपमा नियुक्त हुने विभिन्न राजदूतहरू समेत नेकपा एमालेको हातबाट गुम्नेछन् ।

के के पद गुमाउँदैछ नेकपा एमाले ?

१.राष्ट्रिय सभा अध्यक्ष

२.उपप्रधानसहित ८ मन्त्री

३. मुख्यमन्त्री (प्रदेश १, लुम्बिनी, गण्डकी )

४. प्रदेशका २ सभामुख (मधेस र कर्णाली)र एक उपसभामुख (सुदूरपश्चिम)

५. ६ प्रदेशका मन्त्रीहरू (सुदूरपश्चिमबाहेक)

६.योजना आयोगका सदस्य (३)

सम्भावित

७.राष्ट्रपति, प्रधानमन्त्री, संसदीय समिति र नेतृत्व (केन्द्रदेखि प्रदेशसम्म,करिब ४०)

८. सात प्रदेश प्रमुखमध्ये ४ करिब चार प्रदेश प्रमुख ।

९. राजदूतहरू ।

प्रतिकृया दिनुहोस्