News Portal

फाइनलमा भारतको सामना गर्दै, नेपाल कीर्तिमान रच्न आतुर

नेपाल कीर्तिमान रच्न आतुर

फेवाखबर संवाददाता
८४ पटक

पाेखरा । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।

नेपाल लिग चरणमा इरानसँग पराजित भएको भए पनि सेमिफाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्यो ।

अहिलेसम्म नेपालले इरानलाई हराउन सकेको थिएन ।

त्यस्तै लिग चरणमा नेपालले भारतलाई पराजित गरेर कीर्तिमान रचेको थियो ।

महिला भलिबल टिमले पहिलो पटक भारतलाई हराएको थियो ।

नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा उच्च मनोबलका साथ खेल्दैछ ।

यो खेल जितेर उपाधि हासिल गर्दा नेपाली महिला टिमले अझ ठूलो छलाङ मार्नेछ ।

फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित हुने भएका छन् ।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउँसो २ बजेदेखि हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबल भए पनि अहिलेसम्म त्रिपुरेश्वरमा रहेको सदाबहार बाहेक कुनै पनि कोर्ट रहेको छैन ।

खेलकुदको नेतृत्वलाई यसमा चर्को दबाब परेको छ ।

प्रतिकृया दिनुहोस्