News Portal

भारतसँगको हारपछी प्रतियोगिताबाट बाहिरियो नेपाल

फेवाखबर संवाददाता
१०८ पटक

श्रावन ८ पोखरा  । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगितामा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति १०ः२० बजे सम्पन्न खेलमा भारतले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन समेटियो ।

नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् ।

सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।

भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २÷२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल तयार बनाएको थियो । यो योगफल नेपालका लागि निकै कठिन चुनौती थियो ।

भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन् । उनको यो टी२० आई करिअरको उच्च प्रदर्शन हो ।

अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । भारतलाई ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १ सय २२ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गराएका थिए ।

नेपाललाई स्पिनर सीता राना मगरले हेमलथालाई लङअनमा रुविनाबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । शेफाली सीताकै बलमा विकेटकिपर काजोल श्रेष्ठबाट स्टम्पिङ आउट हुँदै शतकको अवसर गुमाएकी थिइन् ।

सजीवन सजनाले १२ बलमा १० रन बनाउँदै एलबीडब्ल्यु आउट भइन् । जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रनमा अविजित रहे ।

नेपालकी सीता राना मगरले ४ ओभरमा २५ रन खर्चेर २ तथा कविता जोशीले १ विकेट लिइन् ।

भारत समूह एबाट ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो ।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । नेपालको एसिया कपमा तेस्रो सहभागिता हो । यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेले पनि १ खेल पनि जित्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस्