News Portal

कृषिमा राजनीति नगर्न मन्त्री गुरुङ्गको आग्रह

कृषिमा राजनीति नगर्न मन्त्री गुरुङ्गको आग्रह

फेवाखबर संवाददातापोखरा ,१३ फागुन ।
२३१ पटक
पोखरा ,१३ फागुन ।

गाण्डकी प्रदेशका कृषि, जलस्रोत तथा उर्जा मन्त्री वेद बहादुर गुरुङ (श्याम) ले मेला महोत्सवलाई विकास निर्माणमा जोड्नु पर्ने आवश्यकतामा जोड दिए ।
मादी गाउँपालिका वडा नं.१२ भगवतीटारको प्रथम आलु महोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मादी गाउँपालिकाको पूर्वी भेगकको भगवतीटारको जग्गा जमिन कृषि उत्पादनको लागि उर्वरा भूमि भएको बताए । यस क्षेत्रमा आधुनिकीकरणबाट कृषि उत्पादन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै यस क्षेत्रमा कृषि संकलन केन्द्र बनाउनुपर्ने आवश्यकता भएको पनि मन्त्री गुरुङले बताए । यसका लागि स्थानियहरुले जग्गा उपलब्ध गराएर नितिगत रुपमा प्रक्रिया पूरा गरेको खण्डमा प्रदेश सरकारबाट बजेट पनि विनियोजन भएको यस कार्यमा सवैको साथ र सहयोग हुनुपर्ने बताए।
महोत्सवले उत्साहित बनाएको बताउँदै मन्त्री गुरुङले आलु महोत्सवलाई निरन्तरता दिन पनि आग्रह गरे । आगामी दिनमा कृषि उत्पादनमा वृद्धि गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विकास निर्माणमा राजनितिका नाममा भाँजो नहालन पनि राजनितिक दलहरुलाई आग्रह गरे ।
यसै गरी मादी गाउँपालिकाका प्रमुख दवीजङ गुरुङले कृषि उत्पादनमा वृद्धि गर्न गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कृषि क्षेत्रलाई व्यवसायिकरण गर्नुपर्ने बताए । महोत्वसवको विकास निर्माणमा महत्वपूर्ण भुमिका हुने बताउँदै यसले कृषकहरुको आर्थिक स्तरमा पनि वृद्धि गर्ने बताए ।
त्यस्तै गरी मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले महोत्सव आयोजना गर्ने आयोजकलाई धन्यवाद व्यक्त गर्दै महात्सवले हामी सबैलाई विकास निर्माणमा लाग्नुपर्नेमा प्रेरित गरेको बताइन् ।
यसै गरी मादी १२ भगवतीटारका समाजसेवी एवं सफल कृषक पदम प्रसाद पौडेलले भगवतीटारको ऐतिहासिक पृष्ठभुमिको वारेमा जानकारी दिंदै महोत्वसलाई चाडको रुपमा लिएको बताए । विगतमा ताङतिङ र सिक्लेसबाट आलुको विउ ल्याएर आलु उब्जाउने गरिएको बताउँदै पौडेलले यस क्षेत्र कृषि क्षेत्र पछाडि परेको गुनासो गरे । आगामी दिनमा यस क्षेत्रका कृषकहरुलाई व्यवसायिक रुपमा विकास गर्न प्राविधिक तथा आर्थिक सहयोग सरकारबाट हुनुपर्नेमा जोड दिए । स्थानिय सरकारबाट मादीका सबै वडाहरुमा १ जना जेटिएको व्यवस्था गर्न सके कृषि उत्पादनमा वृद्धि हुन गई कृषकहरुको आयस्तरमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।
मादी १२ का वडा अध्यक्ष कृष्णराज दाहालले स्वागत गर्दै मादी गाउँपालिकाको पूर्वी भेगमा रहेको भगवतीटार कृषि उत्पादनका लागि अति नै उर्वरा भूमी भएको बताउँदै यसमा पनि प्रचुर मात्रामा अर्गानिक आलु उत्पादन हुने क्षेत्र भएको बताए । आलु सबै तरकारीमा मिले जस्तै यस क्षेत्रमा कृषिको विकास निर्माणमा सबै लाग्नुपर्ने बताउँदै यसका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कृािष क्षेत्रको विकास र सांस्कृतिक संरक्षण सम्बद्र्धन गर्नु महोत्सवको मूख्य उद्धेश्य भएको पनि वडा अध्यक्ष दाहालले बताए ।

भगवतीटार प्रथम आलु महोत्सव आयोजक समितिका संयोजक प्रकाश आचार्यले महोत्वसलाई सफल पार्न सहयोग गर्ने सबै संघ सस्था, व्यक्तिविशेषमा धन्यवाद ज्ञापन गरेका थिए भने आयोजक समितिनका सचिव महेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

खुल्ला भजन प्रतियोगितामा हराभरा भगवती कृषक समूह प्रथम
आलु महोत्वसमा भएको खुल्ला भजन प्रतियोगितामा प्रथम हुन सफल मादी १२ को हराभरा भगवती कृषक समूहले रु ८ हजार प्राप्त गरेको छ। त्यस्तै गरी द्धितिय हुन सफल मिजुरे पोखरा सम्पर्क समाजले रु ५ हजार र तृतिय हुन सफल मादी १२ कै लिप्यानी भजन समूहले रु ३ हजार प्राप्त गरेको मादी १२ का वडा सदस्य लक्ष्मी गिरीले जानकारी दिइन् । १७ भजन समूहको सहभागीता रहेको प्रतियोगितामा अन्य भजन समूहलाई सहभागी प्रमाण पत्र वितरण गरिएको थियो ।

भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं भन्ने मूल नाराका साथ सम्पन्न भएको महोत्सवमा पूरातात्विकका वस्तुहरु ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगाएतका सामग्रीहरु राखिनुका साथै आलुका विभिन्न परिकारका स्टलहरु समेत राखिएका थिए । महोत्वसमा करिब १ हजार ५ सय जनाले दर्शकले महोत्वसको अवलोकन गरेको महोत्सव संयोजक प्रकाश आचार्यले बताए ।

त्यस्तै निर्णायक मण्डलमा भजन चुट्काका अध्यक्ष शालिकराम गौतम, संगीतकर्मी संघ कास्कीका प्रथम उपाध्यक्ष कल्याणी अधिकारी, संगीतकर्मी संघ कास्कीकै द्धितिय उपाध्यक्ष जौ मायाँ हिताङ र संगीतकर्मी संघ कास्कीका सचिव सुनिल गायक रहेका थिए ।

प्रतिकृया दिनुहोस्