News Portal

प्रधानमन्त्रीले बदले गठबन्धन, राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णय

प्रधानमन्त्रीले बदले गठबन्धन, राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णय

फेवाखबर संवाददातापोखरा ,१३ फागुन ।
१७६ पटक
पोखरा ,१३ फागुन ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र ८ दलको नयाँ गठबन्धन बनेको छ ।

शुक्रबार बिहान नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक राखेका प्रधानमन्त्री प्रचण्डले दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । साँझ ५ बजे सुरुमा बिहान बसेका चार दलको बैठक बस्ने र ६ बजे अरु चार दल थपिएर ८ दल हुने तय भएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरेका थिए । जबकी बिहान भएको छलफलमा नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको थियो भने जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन गरेका थिए । नेपाली कांग्रेसका नेताहरुले भने आफ्नो दलले राष्ट्रपति नपाउने हो भने कसरी सहमति होला भनेर अस्वीकार गरेको थियो ।

तर ८ दलको बैठकमा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नासाथ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले समर्थन गरेका थिए । अरु दलले पनि समर्थन गरेका छन् त्यसपछि,नेपाली कांग्रेसका नेताहरुले धन्यवाद दिएका छन्  । ८ दलको बैठक केहीबेरमै सकियो । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँग भने, ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा नेपाली कांग्रेसले निर्णय गर्छ ।

त्यसपछि जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु बाहिरिएपछि बाँकी चार दलको फेरि बैठक बस्यो । छलफलका क्रममा नेताहरुले पावर शेयरिङबारे छलफल गर्न प्रचण्ड, देउवा र माधव नेपाललाई आग्रह गरेका थिए ।

तीन नेता झण्डै ४० मिनेट छुट्टै बसे । छलफलपछि तीनै नेता प्रशन्न मुद्रामा आए, बैठक सकियो ।

स्रोतका अनुसार तीन नेता नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेर बहादुर देउवा बीच प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी भएको छ । ४ मंसिरको चुनाव मिलेर लडेका तीन नेताबीच २÷२÷१ वर्षको आलोपालो सरकारको नेतृत्व गर्ने भएको थियो । तर देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवादका कारण गठबन्धन भत्कियो । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगेका थिए ।

१० पुसमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको थियो । दुई दलबीच साढे २ वर्षमा नेकपा एमालेले सभामुख छाडेपछि प्रचण्डले प्रधानमन्त्री छाड्ने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो । त्यही सहमति अनुसार नेकपा एमालेबाट सांसद जितेका देवराज घिमिरे ५ माघमा सभामुखमा निर्वाचित भए ।

त्यो बेलामा राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति भएको थियो । २६ पुसमा नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै नेकपा माओवादी केन्द्रको बोली फेरियो । संसदको अधिकांश दलले प्रधानमन्त्रीलाई समर्थन गरेकाले राष्ट्रिय सहमति गर्नुपर्ने नेकपा माओवादी केन्द्रको तर्क थियो । पार्टीबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गराएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग निरन्तर सम्वादमा बसे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्यमा असुरक्षित ठानेका उनलाई नेपाली कांग्रेसका नेताहरुले धोका नहुने आश्वासन दिए, प्रचण्डले राष्ट्रपतिको वचन दिए ।

शुक्रबार ८ दलको बैठकमा पनि उनी आफैंले  नेपाली कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार अहिले पनि प्रचण्डले साढे २ वर्ष सरकार चलाउने समझदारी जस्तै छ । त्यसपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री हुने समझदारी बनेको छ । ‘कार्यकाल साढे २ वर्ष, १ र साढे १ वर्ष हुनसक्छ । यसबारे भोलिका दिनमा पनि छलफल होला,’ एक नेता भन्छन्, ‘प्रचण्डपछि माधकुमार नेपाल प्रधानमन्त्री बन्ने चाहिँ पक्कापक्की भएको छ ।

यद्यपि नेताहरु औपचारिक रुपमा बोल्न तयार छैनन् । नेकपा एमाले सरकारमै रहेकाले प्रधानमन्त्रीमा आलोपालो र सरकारमा सहभागिताबारे एजेण्डा बनाएर छलफल नगरेको नेताहरु बताउँछन् । एक नेताका अनुसार राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने शुक्रबारको निर्णयसँगै अब नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भन्ने साझा बुझाइ छ । ‘भरे भोलि नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सरकारबारे खुलेर छलफल हुन्छ’, एक नेताले सुनाए ।

नेताहरुका अनुसार जसपाले उपराष्ट्रपति र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पाउने पक्का जस्तै छ । उपराष्ट्रपतिको चुनाव ३ चैतका लागि तय भएको छ भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल अर्को वर्ष फागुनमा सकिने छ ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुख भने फेरिने छैन । नेकपा एमालेका नेता देबराज घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर उपसभामुख छन् । सभामुख – उपसभामुखलाई हटाउन दुई तिहाई चाहिन्छ, राप्रपा र एमाले एकठाउँमा उभिनासाथ ८ दलीय गठबन्धनसँग संसदको दुई तिहाइ हुने छैन ।

प्रतिकृया दिनुहोस्