News Portal

पोखरा मनपाले सडकमा निषेध गरेको पार्किङ , व्यक्ति व्यक्तिगत र महानगरको खुल्ला जग्गामा पुर्न सुरुवात

फेवाखबर संवाददातापोखरा , २३ माघ ।
१९६ पटक
पोखरा , २३ माघ ।

 

पोखरा महानगरपालिकाले गत सोमबार एक सूचना प्रकाशित गर्र्दै मुख्य सहरी क्षेत्र पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकको सडकमा सवारी पार्किङ निषेध हुने जानकारी गरायो । महानगरको निर्णय आज सोमबार देखि कार्यन्वयन हुने प्रकाशित सुचनामा उल्ल्लेख थियो । तर, महानगरको यो निर्णय हप्ता दिन पनि टिकेन ।

सडकमा पार्किङ निषेध गरिएको क्षेत्रका व्यावसायी, यातायात व्यावसायी र सवारी चालकको चर्को विरोध खेप्न नसकेपछि कार्यन्वयनको अघिल्लो दिन आइतबार तत्कालका लागि सडकमा पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयन नहुने भन्दै महानगरले अर्को सुचना जारी गरेको छ ।

दुर्घटना न्युनीकरण, सहरी सौन्दर्यकरण र ट्राफिक व्यवस्थापनका लागि सडकमा पार्किङ निषेध गरेको बताउने महानगरपालिकाले निर्णय कार्यन्वयनबाट पछाडि हटेपनि सशुल्क पार्किङको सुरुवात भने गरेको छ । न्युरोडस्थित पूर्णिमा हल पछाडी रहेको योगेन्द्र पध्याङको २ रोपनी जग्गाबाट महानगरका मेयर धनराज आचार्यले सशुल्क पार्किङको सुरुवात गरेका हुन् ।

‘अब सडकमा विस्तारै सवारी साधन राख्ने दिन सकिए भनेर बुझ्दा हुन्छ’, मेयर आचार्यले भने । पार्किङ पनि व्यवसाय भएको उनको भनाई छ । उनले भने, ‘संसारभरी पार्किङको व्यवसाय हुन्छ । सरकारले बनाएको अवस्थामा शुल्क तिर्नुपर्ने हुन्छ । तर हामीले सडकको सबै पार्किङ शुल्क हटाएका छौं ।’ अब सडकमा पार्किङ शुल्क उठाउन टेन्डर नगर्ने उनले दाबी गरे ।
रिङरोड एरियामा असाध्यै ट्राफिक बढेकाले क्रमश खाली गर्न लागेको मेयर आचार्य बताउँछन् । सभागृह र नयाँबजारको प्रदर्शनी केन्द्रमा महानगरले अर्को व्यवस्था नभएसम्म निशुल्क पार्किङ गर्न दिने उनको भनाई छ ।मेयर आचार्यका अनुसार पोखरा सभागृहलाई स्थानान्तरित गरि हालको सभागृहमा बहु उपयोगी व्यापारिक भवन निर्माण गर्ने र त्यसै भवनमा जापानीज मोडलमा बहुतल्ला पार्कीङ्ग व्यवस्थापन गर्ने लक्ष्य महानगरले लिएको बताए ।

सडकमा पार्किङ निषेध गर्ने तयारी गरेर महानगरको स्वामित्व र निजि स्वामित्वको खाली जग्गामा सशुल्क पार्किङको विकल्प दिएको थियो । घरका अन्डरग्राउण्ड सवारी पार्किङका लागि महानगरले दिएको अर्को विकल्प हो ।

सडकमा पार्किङ निषेध गर्ने निर्णय तयारी पुगेन कि भन्ने भएर कार्यन्वयन नगराएको मेयर आचार्यले बताए । ‘हामीले खाली गराएको ठाउँहरु खुला भएको छ । यहाँबाट हामीले विम्बका हिसाबले सुरुवात गरिएको हो’, उनले भने ।

पोखराका उद्योगी व्यावसायीहरुको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले महानगरको सडकमा पार्किङ निषेध गर्ने निर्णयको विरोध गर्दै आइरहेको छन् । आइतबार संघले महानगरका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीलाई ज्ञापनपत्र बुझाएको थिए । विकल्पसहित पार्किङ निषेध गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघको अडान छ ।

सोमबार सशुल्क पार्किङको सुरुवातसँगै सडकमा पार्किङ निषेधको शुभारम्भ भएको पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताउँछन् । ‘सधैं पोखरा कुरुप हुदैन अब सुन्दर पोखरा पनि हुनपर्छ भनेर आज सुरुवात गरेका हौं’, उनले भने । चुनावका बेला पोखरालाई सुन्दर बनाउन गरेको प्रतिबद्धता पुरा गर्ने उनले बताए । पार्किङ हटाउन नभइ व्यवस्थित गराउन खोजेको उनको दाबी छ ।

 

महानगरले २७ स्थानमा खाली जग्गा सशुल्क पार्किङका लागि व्यवस्थापन गरेको जनाएको । जहाँ ५ सय हलुका सवारी र ८ सय मोटरसाइकल स्कुटर पार्किङ गर्न मिल्ने क्षमता छ । पार्किङ गरेवापत दुईपांग्रे सवारी धनीले प्रति घण्टा १० रुपैयाँ तिर्नुपर्ने महानगरले शुल्क निर्धारण गरिदिएको छ । हलुका सवारीको ५० रुपैयाँ र मझौला सवारीको ७० रुपैयाँ शुल्क तोकिएको छ ।

महानगरको तथ्याङ्क अनुसार अहिले सडकमा २५० गाडी र ३५० मोटरसाइकल र स्कुटर पार्किङ हुँदै आइरहेको छ । महानगरलले यसअगाडि भने सडकमै पार्किङ गरेवापत् शुल्क उठाउन ठेक्का नै लगाउने गरेको थियो । सडकमा पार्किङ शुल्क उठाउँदै आएको फेवा सावित्री जेभीसँगको ठेक्का गत पुस ८ गते महानगरले तोड्यो ।

२०७७ सालमा फेवा सावित्री जेभीलाई २ वर्ष सडकको पार्किङको शुल्क उठाउने ठेक्का लगाइएको थियो । ०७९ मंसिर २७ गतेसम्मका लागि सम्झौता भएकोमा निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै सुटुक्क पुनः ४ महिनाका लागि समय थपिदिएका थिए । तर, फेवा सावित्री जेभीले तिर्नुपर्ने वक्यौता रकम नतिरेपछि पुसमा महानगरले सम्झौता रद्द गरेको हो ।

महानगरले यसअगाडी प्रायोजन विपरित प्रयोग भइरहेका अन्डरग्राउण्ड खाली गराउनलाई भदौ साउन तेस्रो ३५ दिने सुचना निकालेको थियो । तर, पाँच महिना बित्दा समेत पूर्ण रुपमा कार्यन्वयन भएको छैन ।

प्रतिकृया दिनुहोस्