पूर्व सञ्चारकर्मी प्रेम बानियाँले रवि लामिछानेलाई संयमता नगुमाउन सुझाव दिएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत संयमता र धैर्यताका साथ अगाडि बढ्न सुझाव दिएका हुन् ।
उनले फेसबुकमा लेख्दै मात्तिने वा आत्तिने परिस्थितिबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्न आग्रह गरे । उनले भनेका छन्, ‘भोलि अर्को कोही राज्यविहीन नबनोस् भन्नका लागि आज तपाईँ स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो ।’
शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलासँगै उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद र मन्त्री पद खारेज भएको हो ।
यस्तो छ प्रेम बानियाँको स्टाटस:-
नेपालको सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै ‘पृथ्वीकै अनागरिक’ बाँचिरहेका स्टेटलेस अर्थात् राज्यबिहीन साथी रबिजी,
तपाईंले देशमा परिकल्पना नै गर्न छुटेका विषयहरुसमेत उजागर गरेर देश र जनताकै लागि योगदान गरिरहनु भएको छ ! माँत्तिने वा आँत्तिने परिस्थितीबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्नुभयो भने आजका यिनै ब्यवधान र अप्ठ्यारा गौंडाहरु तपाईंको मात्र होइन देशकै जीवनमा इतिहास बन्नेछन्, नजीर बन्नेछन् । ‘भोलि अर्को कोही राज्यबिहीन (स्टेटलेस) नबनोस्’का लागि आज तपाईं स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो । फैसलाअनुसार कुनै समय एक साथ दुई वटा देशको नागरिक रहेको तपाईं अहिले कुनै पनि देशको नागरिक हुनुहुन्न ! यो आश्चर्य संसारका बिरलै मान्छेको जीवनमा मात्र हुन्छ, त्यो तपाईं बन्न पुग्नुभयो । तर, यो समय पनि छिट्टै पार हुनेछ । र, हामी मिलेरै परिवर्तनको यो ऐतिहासिक अठोटलाई पूरा गर्नेछौं । केही खत्तम भइसकेको छैन बरु झन् बलियो भएर अगाडि बढ्न तपाईंको जीवनको एउटा ‘फिल्म’ले खतरनाक उपकथा पाएको छ ! दुखी हुनुपर्ने रत्तिभर कारण छैन । हामी सँधै सँगै छौं ।
यद्यपि म अलिकति पछि फर्किन चाहन्छु जो बताएर तपाईंलाई आगामी दिनमा दूरदर्शिताका साथ अगाडि बढ्न सजिलो होस् ।
संसारमा कुनै पनि चिजबस्तु वा विचार एक प्राकृतिक विकासबाट सम्भव र सफल हुन्छ, मेरो मान्यता छ । त्यसैले ‘छिट्टै खाउँ, जल्दै मरुँ’ नगरी हतारपूर्वक सत्तामा जानु हुन्थेन भन्नेमा म आज पनि अडिग छु । जबकि तपाई/हामीलाई राम्रोसँग थाहा थियो र छ कि नेपालको अहिलेको संसदीय व्यवस्था भनेको एकले अर्कोलाई सिध्याउने र जसरी पनि सत्ताको ललिपप लिएर जनतालाई झुक्याउने ब्यवस्था हो । जब तपाईंको पार्टीको वा कसैको पनि बहुमत छैन, हुने खेल यस्तै हो, भयो । तर, स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै एकदम हतार गरेर जब तपाईं सत्तामा जानुभयो र जेजे गर्नुभयो वा बोल्नुभयो जस्तो कि, क्याबिनेटभित्रैको प्रतिपक्ष बन्नेदेखि पहिलो निर्णय निर्मला हत्याकाण्डको फाइल उतार्नेहुँदै भीभीआईपीका सुरक्षाकर्मी फिर्ता बोलाउने र क्रमश क्रसर उद्योगहरु बन्द गर्नेसम्म आइपुग्दा त तपाईंलाई तपाईंका आफ्नै निर्णयहरुमध्ये कुनै एकले वा ती सवै निर्णयहरुले नै स्वत सरकारबाट गलहत्याउने थिए । किनकी यस्तो अवस्थामा सरकारमा जानु भनेको अबगाल आर्जन गर्नु मात्र थियो । त्यसमाथि पनि तपाईं स्वयम्का लागि त झन् यो डरलाग्दो विषय थियो सत्ता । आज लाग्ला फरक विषयले तपाईंलाई सत्ताबाट बाहिर निकालिदियो तर यसभित्र पनि त्यही गन्ध छ र यदी यो विषय थिएन भने पनि हुनेवाला यस्तै-यस्तै थियो ।
सम्झिनुस्, त्यो चुनावी माहौल ! तपाईंको जीतको समय ! त्यो एक महिनाअघिको रबि लामिछाने र अहिले सत्तामा गएर फर्किएको रबि लामिछाने ! अब यी दुई रबि लामिछानेहरु भए ! र, यी दुईबीच अब धेरै अन्तर परिसकेको छ ! यसको मतलब नेता हुनु भनेको दूरदर्शी हुनु हो, तपाईंले जाबो यति एक महिनाको दूरी पनि अनुमान गर्न सक्नुभएन र जनताको चित्त दुखाउनु भयो ! जबकि तपाईंलाई जति तपाईंको नागरिकता वा अरु विषयबारे यो दुनियाँका कुनै पनि वकिल, न्यायाधीश त के कसैलाई पनि थाहा थिएन एकातिर, अर्कोतिर जनताले आफ्नो राजनीतिक छाक काटेर दिएका त्यो अपार मतको भारी पनि गर्हुंगो भएको थियो, त्यो देखिन्थ्यो । एक दिन छिट्टै भेटेर यी सवलाई केलाउँला तर यतिवेला तपाईं एउटा चरणमा हुनुहुन्छ र यसलाई पार लगाउनु छ । यसका लागि जम्माजम्मी एउटै बाटो छ त्यो हो नेपाली नागरिकता लिने प्रक्रियामा तत्काल जाने र उपनिर्वाचनको बाटोहुँदै परिवर्तनको बाटोमा पुन अघि बढ्ने ।
तर, सुनिरहेको छु, यो नागरिकताको विषयभन्दा पनि डरलाग्दो गरेर तपाईंको पासपोर्ट विषयको फैसला हुँदैछ ! अब तपाईंले आफै जनतामाझ उभिएर भनिदिनु होला कि साँच्चै केके गर्नु भएको थियो ? जसले गर्दा जनताले सम्पूर्ण सत्य समयमै थाहा पाउन् ।
एक समालोचनात्मक साथी हुनुको नाताले यी सबै शब्दहरुको तात्पर्य, नेपालमा उदाउँदै गरेको नयाँ पुस्ताको आवाज असफल नहोस्, नहारोस् यो पुस्ता परिवर्तनको लडाईं र मैले भन्न खोजेको यही हो कि एक जुगमा आएको एक दिन खेर नजाओस् ।
जय स्वाभिमान !