News Portal

दैलेखमा मिथेन ग्यास भेटिएपछि देउवा, ओली र दाहालले खुसी बाँडे

फेवाखबर संवाददाता
६० पटक

 

दैलेखमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेपछि शुक्रबार दिनभर सरकार र राजनीतिक दलबीच चर्चाको विषय बन्यो । सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताले एकै थलोमा बसेर खुसी बाँडेका छन् ।

 

संक्रमणकालीन न्याय सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास सिंहदरबारमा बसेको कांग्रेस एमाले र माओवादीका शीर्ष नेताले दैलेखमा ग्यास भण्डार भेटिएपछि खुसी बाँडेका हुन् । बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा धेरै मात्रामा ग्यास रहेको पाइएकोमा देशकै लागि खुसीको क्षण भएको बताएका थिए ।

 

‘दैलेखमा ग्यास, पेट्रोलियम पदार्थको खानी भेटिनु खुसीको कुरा हो । यसमा हामी सबैले खुबै साटौँ,’ ओलीको भनाइ उदृत गर्दै प्रधानमन्त्रीका मानवअधिकार सल्लाहकार अग्नि खरेलले भने, ‘यो मुलुकका लागि खुसीको कुरा हो ।’ उनले जुन सरकारले सुरु गरे पनि मुलुकमा ठूलो खानी पत्ता लाग्नु मुलुकका लागि धेरै महत्त्वपूर्ण भएकाले खुसी साट्नु उपयुक्त हुने बताए ।

 

उनको भनाइलाई कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन गर्दै यो खुसीको विषय भएको बताएका थिए । गत जेठमा माओवादीको मध्यपहाडी राजमार्गमा राजनीतिक अभियानका क्रममा उनले दैलेखमा रहेको खानी उत्खनन क्षेत्रको अवलोकन गरेका थिए । उनले त्यसबेला माओवादी नेतृत्वको सरकारमा खानी अन्वेषण भएको दाबी गरेका थिए ।

 

खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको जनाएको छ । यसको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म आउने विभागले जनाएको छ ।

चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पत्ता लागेको हो । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ

प्रतिकृया दिनुहोस्