
तनहुँको भिमाद नगरपालिकाले वडाध्यक्षका छोरालाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिलाउन भित्रभित्रै ठूलो सेटिङ गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित सियाखानीमा स्थानीयले विरोध गर्दागर्दै प्रहरीको संरक्षणमा खोला उत्खनन् गरिएपछि यस्तो तथ्य खुलेको हो ।
अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । शिवशक्ति क्रसर उद्योगले त्यहाँ धमाधम डोजर लगाएर बालुवा निकालिरहेको छ । स्थानीयहरुको विरोधलाई रोक्न दर्जनौँको संख्यामा प्रहरी तैनाथ गरिएको भिडियोमा देखिन्छ ।
स्थानीयले बताएअनुसार उक्त उद्योगका मालिक ६ नम्बरका वडाध्यक्ष श्याम सुन्दर जोशी हुन् । कागजपत्रमा भने उनका छोरा विधान जोशीको नाम छ ।
नदी तथा खानीजन्य पदार्थ उत्खनन् गर्दा प्रभावित क्षेत्रका वासिन्दालाई क्षतिपूर्ती दिनुपर्ने कानुनी प्रवन्ध छ । तर, शिवशक्ति क्रसरले भने स्थानीयसँग क्षतिपूर्तीबारे अहिलेसम्म सामान्य छलफलसम्म गरेको छैन । बरु, उल्टै प्रहरीको सुरक्षा घेरामा निर्वाध नदी खोतल्ने काम गरिरहेकाे छ ।
भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी र क्रसर संचालन भएको ठाउँ ७ नम्बरका वडाध्यक्ष प्रकाश श्रेष्ठ दुबै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । शिवशक्ति क्रसरका मालिक अर्थात् ६ नम्बरका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । अरुबेला पक्ष-विपक्ष हुने गरेकाकांग्रेस र एमालेका जनप्रतिनिधिले मिलेमतोमा खोला उत्खनन् गरेको स्थानीय बताउँछन् ।