News Portal

टुकुचाले कल्भर्टको टेको भत्काउँदा सडकमा भ्वाङ

सञ्चालनमा आउन ३ महिना लाग्न सक्ने

फेवाखबर संवाददाता
५१ पटक

बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा भ्वाङ परेको छ ।डिभिजन सडक कार्यालय काठमाडौं मातहतको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ परेको छ ।

फुटपाथमा हिँड्न समेत असहज हुने गरी भ्वाङ परेकाले दुई लेनको एकतर्फी यो सडक हाल पूर्णरुपमा बन्द गरिएको छ । सडकमा भ्वाङ परेको जानकारी पाएपछि डिभिजन सडक कार्यालयका अधिकारीहरु अवलोकनका लागि गएका थिए ।

अवलोकनमा गएका डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार टुकुचा खोला (इच्छुमती)को कल्भर्टको टेको भत्किएर सडकमा भ्वाङ परेको हो ।

‘टुकुचा माथि स्ल्याब कल्भर्ट छ । अरु पुल लामो हुन्छ, तर त्यो छोटो पुलजस्तो छ । स्ल्याब कल्भर्टलाई अड्याउन टेको लगाइएको थियो । त्यो टेको ५० औं वर्ष अगाडि ईंटाको बनाइएको रहेछ,’ अनलाइनखबरसँग भण्डारीले भने ।

‘त्यो बेला ईंटाको वाल लगाएर त्यसमाथि फलाम तेर्स्याएर ढलान गरेको रहेछ । त्यसपछि त्यो वाललाई खोलाले खोलाले खोल्दै जाँदा भत्केको हो । जुन ब्रिज वाल हो त्यो भत्केको छ । इँटाको पर्खाल भत्केर फाटेर बस्यो त्यसपछि टुकुचाले माटो बगाएर लगेपछि भ्वाङ पर्‍यो ,’ उनले ब्याख्या गरे ।

भण्डारीका अनुसार पश्चिम क्षेत्र दरबारमार्ग तर्फबाट कमलादीतर्फ पानी आउँदा टेको भत्केपछि सडक मुनिको माटो बगाउँदा भ्वाङ परेको हो ।उनले यसलाई मर्मत सम्भार गरेर मात्र नहुने भन्दै पुरै पुनर्निर्माण गर्ने बताए । ‘त्यो पुरानो कल्भर्टले काम गर्दैन त्यसको लागि फेरी पुरै फेँददेखि नै उठाउन आवश्यक छ,’ भण्डारीले भने ।कमलादी सडक अब ३ महिना लाग्न सक्ने उनले बताए । ‘यो मर्मत, सम्भार गरेर सञ्चालन गर्ने अवस्था नै छैन । यसको लागि पुरै तलदेखि उठाएर नयाँ कल्भर्ट निर्माण गर्नुपर्ने हुन्छ । अब यो ठेक्का प्रक्रियामै गएर सुरु गर्दा एक–डेढ महिना लाग्छ । काम सम्पन्न गर्दा २–३ महिना हुन्छ,’ उनले  भने ।

प्रतिकृया दिनुहोस्