News Portal

पोखरा उद्योग वाणिज्य संघको ३५औँ अधिवेशन भदौ २८ र २९ मा

पोखरा उद्योग वाणिज्य संघको ३५औँ अधिवेशन

फेवाखबर संवाददाता
९० पटक

पोखरा । पोखराको सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभा तथा ३५औँ अधिवेशन भदौ २८ र २९ गते हुने भएको छ ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले भदौ २८ र २९ गते साधारणसभा र अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनअन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्य सम्पन्न गर्न पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति बनाइएको संघले जनाएको छ ।

नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले अधिवेशनलाई पोखरेलीले चासो र महत्वका साथ हेरेका छन् ।

मिति घोषणा भएसँगै चुनावी माहोल पनि सुरु भएको छ । संघको विभिन्न पदमा आकांक्षा राखेकाहरु मतदाता व्यवसायी भेटघाटमा लागिसकेका छन् । साथै केही भने उम्मेद्वारी घोषणाका लागि समूह बनाउने तयारीमा जुटेका छन् ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र गत अधिवेशनका अध्यक्ष पदका उपविजेता अर्जुन पोखरेललाई सम्भावित उम्मेद्वारका रुपमा हेरिएको छ ।

वरिष्ठ उपाध्यक्ष कार्कीले आफू वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका कारण स्वभाविक रूपमा अध्यक्ष पदको उम्मेद्वार बन्ने बताइसकेका छन् । साथै उनले चाँडै आफ्नो टिम (समूह) घोषणासहित निर्वाचनमा सहभागी हुने बताएका छन् ।

पोखरेलले भने औपचारिक रुपमा केही बोलेका छैनन् । तर आफू पनि अध्यक्ष पदको आकांक्षी रहेको संकेत भने गरेका छन् ।

संघमा करिब तीन हजार तीन सय मतदाता छन् । पछिल्ला वर्षमा संघको भूमिका प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीले गुनासो गर्दैै आएका छन् ।

संघले पोखराका जल्दाबल्दा विषयमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पोखरा विश्वविद्यालय स्थापना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखराको फुटपाथ व्यवस्थापन, खानेपानी आपूर्तिलगायतमा संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

प्रतिकृया दिनुहोस्