News Portal

साढे ४१ करोड लागतमा पोखरा विश्वविद्यालयकाे नयाँ शैक्षिक भवन बन्ने

साढे ४१ करोड लागतमा पोखरा विश्वविद्यालयकाे नयाँ शैक्षिक भवन बन्ने

फेवाखबर संवाददाता
५६ पटक

पोखरा । पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको उपस्थितिमा उक्त सम्झौतापत्रमा विश्वविद्यालयतर्फबाट रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष श्रेष्ठ एवं सुपरभिजन परामर्शदातातर्फबाट प्रबन्ध निर्देशक इ. विष्णुप्रसाद खनालले हस्ताक्षर गरे । भवन करिब साढे ४१ करोड लागतमा बन्नेछ ।

पोखरा ढुंगेपाटनस्थित विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र निर्माण गरिने नयाँ शैक्षिक भवनका अतिरिक्त स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज भवनका लागि ट्रस संरचना, स्कुल अफ बिजनेश भवनका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतसहितका सम्बद्ध कार्यहरूका लागि १७ वटा बोलपत्रमध्येबाट सो आयोजनाका लागि छनोट भएको निर्माण व्यवसायी श्रेष्ठ एण्ड सन्स, चो रोल्पा जेभी, काठमाडौं र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो । आयोजनाको सुपरभिजन परामर्शदाताको रूपमा रहेको पेस कन्सल्टेन्ट, काठमाडौंले गर्नेछ । आगामी १५ साउनदेखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न हुने उक्त निर्माण कार्यको सम्झौता लागत ४१ करोड ४३ लाख रुपैयाँ छ ।

प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको स्कुल अफ इन्जिनियरिङको पश्चिमपट्टि र स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि बास्केटबल कोर्ट भएको स्थानलाई समेत प्रयोग गरी निर्माण गरिने नयाँ शैक्षिक भवन अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । भुँइतलादेखि ७ तला भएको उक्त भवनमा ४८ जना विद्यार्थी क्षमताका १४ वटा कोठा र ३० विद्यार्थी क्षमताका १२ वटा कोठा गरी २६ वटा कक्षा कोठाहरू हुनेछन् । भवनमा १२ वटा प्रशासनिक कोठाहरू, २४ वटा शिक्षक बस्ने कोठाहरू, ४ वटा विभागी प्रमुखका कोठाहरू रहनेछन् । यसरी कुल ६६ वटा कोठाहरू डिजाइन गरिएको उक्त भवनमा छात्रा÷महिलाका २३ वटा बाथरूम÷ट्वाइलेट, छात्र÷पुरूषका लागि १८ वटा बाथरूम÷ट्वाइलेट, २४ वटा यूरिनल्स् र प्रत्येक तलामा स्टाफका लागि १–१ वटा बाथरूम÷ट्वाइलेट निर्माण गरिनेछ । भवनमा १–१ वटा प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री कक्ष, बिजुली कोठा र ४ वटा भण्डार कोठा रहनेछन् । त्यस्तै, भवनलाई २ वटा भ¥याङ र एउटा लिफ्टसहित ३ सय जना क्षमताको एउटा अडिटोरियम हल र ४० जना क्षमताको एउटा मिनी हलले सुविधायुक्त तुल्याइनेछ । भुँइतलमा १९ कार, ५० मोटरसाइकल तथा भवन परिसरमा ७० मोटरसाइकल अट्न सक्ने गरी व्यवस्थित गरिनेछ । सम्झौताबमोजिम भवनलाई निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्दा, कार्पेट एवं फर्निचरले राम्रोसँग सुसज्जित गरी हस्तान्तरण गर्नुपर्नेछ ।

विश्वविद्यालयमा नयाँ–नयाँ कार्यक्रम थपिनेक्रममा रहेका र पठनपाठनका लागि यथेष्ट कक्षा कोठाहरू आवश्यक हुँदै गएको सन्दर्भमा विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृनिकायको अनुदान सहयोग एवं आफ्नै आन्तरिक स्रोत परिचालन गरी नयाँ अत्याधुनिक शैक्षिक भवन निर्माण गर्न लागेको हो । विश्वविद्यालयमा निर्माण हुन लागेको यो भवनले विश्वविद्यालयको शैक्षिक पूर्वाधारमा ठूलो फड्को मार्ने र पोखरा–२६, विजयपुरमा मासिक लाखौं खर्च गरी भाडामा सञ्चालन हुँदै आएको स्कुल अफ इन्जिनियरिङको ब्लक ‘बि’ र पोखरा–३०, गगनगौंडामा मासिक हजारौं खर्च गरी सञ्चालित फिजियोथेरापी कार्यक्रमलाई नयाँ शैक्षिक भवनमा स्थानान्तरण गर्ने विश्वविद्यालयको लक्ष्य रहेको सूचना अधिकारी लोकप्रसाद ढकालले जनाए ।

प्रतिकृया दिनुहोस्