News Portal

खाल्डाखुल्डी ७ दिनभित्र पुर्न निर्देशन

खाल्डाखुल्डी ७ दिनभित्र पुर्न निर्देशन

फेवाखबर संवाददाता
४९ पटक

पोखरा

वर्षाको कारण बुटवल नारायणगढ सडक दिनदिनै जसो अवरुद्ध भएपछि निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई ७ दिनभित्र बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा खाल्डा पुर्न निर्देशन दिइएको छ ।

जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा कावासोतीमा भएको नवलपुरका जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको छलफलमा यस्तो निर्देशन दिइएको हो ।

अहिले बुटवल नारायणगढ सडक खण्डको दाउन्ने र चोरमाराबा दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ भने दाउन्ने, दुम्किबास, अरुणखोला, चोरमारा, कावासोती, गैडाकोटलगायत स्थानमा अत्यधिक खल्डाखुल्डी भएको छ ।

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्डमा अहिले जम्मा ५३ प्रतिशतको हाराहारीमा काम भएको छ । सडक निर्माणको ठेक्का अवधि साउन ८ गते सकिँदै छ । चाइना स्टेट कम्पनीले भने अहिले आफूहरूसँग पैसा नभएको भन्दै वर्षाको बेला ठाउँठाउँमा सडक अलपत्र परेर छाडेको छ ।

सडक अलपत्र हुँदा यात्रुहरूलाई यात्रामा निकै सास्ती भएको छ भने अहिले चोरमारा र दाउन्ने खण्डमा दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ ।
चाइना स्टेट कम्पनीले चोरमारामा तत्काल ग्राभेल बिछ्याएर पानी पर्दा सडक अवरुद्ध नहुने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ भने ७ दिनभित्र पूर्वपश्चिम राजमार्गमा रहेको खाल्डाखुल्डीहरू पुर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले बताए ।

प्रतिकृया दिनुहोस्