News Portal

पोखरा विश्वविद्यालयमा चर्कियो आन्दोलन : पठनपाठन ठप्प, परीक्षा प्रभावित

पोखरा विश्वविद्यालयमा चर्कियो आन्दोलन : पठनपाठन ठप्प, परीक्षा प्रभावित

फेवाखबर संवाददाता
६४ पटक

पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापकले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना सुरु गरेका छन् ।

यसैगरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न माग राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको २४औं सभाले करार प्राध्यापकको सेवा अवधि थप नगरी नयाँ विज्ञापन गर्ने निर्णय गरेपछि करार प्राध्यापक आन्दोलनरत भएका हुन् ।

“विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन”, धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले प्रश्न गरे, ‘करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?’

हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालीन करार प्राध्यापक तथा प्राविधिक सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापक पदाधिकारी बन्नका लागि तथा पीएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकको संख्या आधाआधा छ ।

आन्दोलनको पहिलो चरणअन्तर्गत शुक्रबारदेखि करार प्राध्यापकले उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डीन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कुल निर्देशकको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कुल प्रशासन कार्यालय तालाबन्दीको गरेका थिए ।

विद्यार्थी संगठनको संयुक्त तालाबन्दी

नेपाल विद्यार्थी संघ र अनेरास्ववियु निकट विद्यार्थीले आइतबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र स्कुल अफ इन्जिनियरिङको मूलढोकामा संयुक्त तालाबन्दी गरेका छन् ।

विद्यार्थी संगठनले शुक्रबार अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा तालिका एवं नतिजा प्रकाशन भाद्र २० अगावै गर्नका लागि ज्ञापनपत्र बुझाएका थिए ।

इन्जिनियरिङ परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेस्टरको नतिजा प्रकाशनको ग्यारेन्टी गर्न विद्यार्थी संगठनको माग छ ।

आन्तरिक परीक्षासमेत स्थगित

पोखरा विश्वविद्यालयमा कार्यरत पूर्णकालीन करार प्राध्यापकको पेन डाउनका कारण स्कुल अफ इन्जिनियरिङको आन्तरिक परीक्षा स्थगित भएको छ ।

हाल जारी आन्तरिक परीक्षामा करार प्राध्यापकले प्रश्नपत्र बनाउन तथा निरीक्षकका रुपमा काम नगर्ने भएपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनीलमणि भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्