News Portal

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स यूरोकपको सेमिफाइनलमा

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स यूरोकपको सेमिफाइनलमा

फेवाखबर संवाददाता
५० पटक

पोखरा । फ्रान्सले युरो कप–२०२४ को सेमिफाइनल प्रवेश गरेको छ । गएराति पोर्चुगललाई टाइब्रेकरको शिकार बनाउँदै फ्रान्स अन्तिम ४ मा पुग्न सफल भएको हो ।

जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित र अतिरिक्त गरी १२० मिनेटसम्म खेल बराबरी भएको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५–३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे ।

पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । शनिबार हुने क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की आमनेसामने हुने छन् ।

स्पेनलाई आयोजक जर्मनीलाई पराजित गर्न अन्तिम मिनेटसम्म कुर्नुपरेको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई सेमिफाइनलमा पुर्‍याउन सफल भएका हुन्।

निर्धारित समयको खेलमा दुवैतर्फबाट एक-एक गोल भएको थियो । ५१ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । स्पेनको पक्षमा जितको घोषणा हुनै लाग्दा ८९ औं मिनेटमा जर्मनीले बराबरी खेलेको हो । फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए । र, खेल अतिरिक्त समयमा पुग्यो।

स्पेन र जर्मनीले हालसम्म सर्वाधिक तीन–तीन पटक उपाधि चुमेका छन् ।

प्रतिकृया दिनुहोस्